बैशाख १४, २०८१ शुक्रबार

काठमाडौँ, १४ वैशाख (रासस) : पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने माध्यम बनेको ‘मिलिनियम ट्रेक’ अर्थात् सहस्राब्दी पदयात्रा अहिले धेरैको रोजाइमा पर्न थालेको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो पदयात्रामा गुरुङ र मगरको संस्कृतिसँगै विभिन्न विभिन्न इतिहास, परम्परा, गाउँले जीवनशैलीका साथै भूगोल जान्ने अवसर पनि हो ।
     
    पदयात्राका क्रममा लाहुरबाट फर्किएर डाँडामा जीवन बिताइरहेका बुढापाकाहरु र रोजगारीको खोजीमा युवाहरु सहर र विदेश पुग्दा रित्तिएका गाउँ बस्तीका कथा पनि सुन्न पाइन्छ । ‘पानी र जवानी पहाडमा टिक्दैन’ भनेझैँ पहाडमा युवाहरुको सङ्ख्या घट्दो देखिन्छ । यद्यपि देशमै केही गर्छु भनी वैदेशिक रोजगारबाट फर्केका युवाहरु कतैकतै भेटिन्छन् पनि । यो पदमार्ग नेपालको ग्रामीण समाजको सभ्यताको चिनारी बुझ्नका लागि र प्राकृतिक एवम् सांस्कृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त गन्तव्य हो भन्न सकिन्छ ।
    
     देशभित्र र विदेशमा यस पदमार्ग गुरुङ तथा मगर संस्कृति बुझ्नका साथै  मध्यनेपालका पहाडको प्राकृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त विकल्पका रुपमा प्रचारप्रचार पनि भइरहेको छ । यस पदमार्गमा यात्राका क्रममा कान्जिरोवा, धौलागिरि, अन्नपूर्ण, मनास्लु र गणेश हिमशिखरलगायत विभिन्न पर्वतहरुको अवलोकन गर्न सकिन्छ । करिब चार सय मिटरदेखि एक हजार आठ सय मिटरसम्मको उचाइमा पर्ने यो पदमार्ग अत्यन्तै सुमधुर पदमार्गमा पर्दछ । हिन्दू, बौद्ध र बोन धर्महरुको अभ्यास र प्रचलनलाई नजिकसँग बुझ्ने मौकासमेत यस यात्राका क्रममा गर्न पाइन्छ ।
     
    पदमार्गको अधिकांश हिस्सा विकट स्थानबाट गुज्रिए पनि कहीँकतै मोटर गुड्ने बाटो पनि भेटिने हुनाले आकस्मिक परिस्थितिका लागि पनि गाडीको सहजै व्यवस्थापन गर्न सकिन्छ । पदयात्रामा १० वर्षे जनयुद्धका क्रममा मुलुकले भागेको घटनाक्रम पनि बुझ्न सकिन्छ । साथै, राजनीतिक विकासक्रमलाई बुझ्न पनि यो पदमार्ग गन्तव्य बन्न सक्छ । पाका पुरानाहरुबाट तत्कालीन समयमा भीडन्तका कथाहरु सुन्न पाइन्छ । 
    
    त्यति मात्रै होइन, स्याङ्जास्थित माझकोट मनकामनाबाट देखिने मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ । सङ्घीयतापछि तीनवटै तहका सरकारले गरेको विकासलाई नजिकबाट नियाल्न सकिन्छ । पूर्वाधार विकासमा भएको लगानीबाट बनेका मोटर गुड्ने बाटो, लिफ्टिङ प्रविधिमार्फत पानीको आपूर्ति र २४सैँ घण्टाको विद्युत् आपूर्तिका कारण गाउँमा पुगेको सुविधाले आएको परिवर्तनबारे जानकारी लिन पाइन्छ । पदमार्गमा झरना, खोला, गुफा, मन्दिर एवं विभिन्न भ्यू प्वाइन्टलगायतका आकर्षक पर्यटकीय गन्तव्यले थकाइ महसुस गर्न दिँदैनन् । मिलिनियम ट्रेककै नाममा नामाकरण गरिएको मिलिनियम गुफा, कैलाश गुफाजस्ता साना ठूला रमणीय गुफाहरु पदमार्गमै पर्छन् । बाइसे र चौबीसे राज्य हुँदाका दरबार र कोट तथा किल्लाका भग्नावशेष पनि पदमार्गमा अवलोकन गर्न पाइन्छ ।
     
    नेपालको आधुनिक इतिहास खण्डमा नै बाइसे–चौबीसे राज्यकाबीच हुने निरन्तर युद्ध र आक्रमणका कारण यी क्षेत्रका डाँडामा धेरै दरबार तथा किल्ला बनाइएका थिए । आज ती दरबार, कोट र किल्ला सबै यस पदमार्गबीच ऐतिहासिक धरोहरको आकर्षणको भएर ठडिएको छ । यी ऐतिहासिक र पुरातात्विक महत्वका यी भग्नावशेषलाई स्थानीयवासीको जोडबलमा संरक्षण गरिँदै आएको छ ।
     
    पदमार्गमा लोभ्याउने यस्तै ऐतिहासिक दरबार हो भीरकोट दरबार । नेपालको आधुनिक इतिहासमै सफल कुटनीतिज्ञ मानिने ऋषिकेश शाहसँग जोडिएको यस भीरकोट दरबारको भग्नावशेषहरु आज पनि देख्न सकिन्छ । राज्यरजौटा उन्मूलन हुनुपूर्व राजकाज नै सम्हालेका हुनाले यस ठाउँका बासिन्दा विशेष आत्मीयता राख्छन् । माथिल्लो किल्लाबाट स्थानान्तरण गरी तल्लो फाँटमा लगेर शाहले नयाँ दरबार निर्माण गरेको भन्ने तथ्य स्थानीयहरुले भन्न छुटाउँदैनन् ।
     
    हरिया पहाडको अत्यन्तै मनमोहक दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता नै हो । पदमार्गका कैयौँ ठाउँमा चट्टानैचट्टानले बनेका भीरहरु देख्दा जो कोहीको आङ जिरिङ हुन्छ । साहसिक पर्यटकका लागि गरिने प्याराग्लाइडिङ, क्यानोनिङ र रक क्लाइम्बिङ जस्ता गतिविधि पनि पदमात्रामा प्रशस्तै भेटिन्छन् । हाल व्यावसायिक रुपमा यस्ता गतिविधि नभए पनि साहसिक पर्यटन पारखीहरु भने ठाउँ ठाउँमा रमाइरहेको देख्न सकिन्छ । 
    
    भीरकोटको कोखे झरना र भीरकोटकै केगा देउरालीबाट हुने प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिमा रम्न सकिने स्थानका रुपमा विकास हुँदै गइरहेको देखिन्छ । यस क्षेत्रमा चाँडै नै यसले व्यावसायिक रुप लिन सक्ने पनि देखिन्छ । पदमार्गमा साइकलिङ तथा मोटरबाइक एडभेञ्चरका लागिसमेत उपयोगी छ । केही वर्ष पहिले पनि यस पदमार्गमा साइक्लिङ प्रतियोगितासमेत गरिएको थियो । त्यसैले पनि नेपाल आउने विदेशी पर्यटकमाझ पदमार्गमा यात्रासँगै साहसिक गतिविधिमा समेत संलग्न गराउन सकिने यथेष्ट सम्भाव्यता छ ।
      
    यो पदमार्ग चरा अवलोकनका लागि उच्च कोटीमा पर्दछ । त्यसो त सबै खाले पदमार्ग बर्ड बाचिङ्गका लागि अत्यन्तै उपयुक्त भए पनि तनहुँको रायपुरबाट सुरु हुने चरा अवलोकन क्षेत्र विशेष मानिन्छ । स्याङ्जाको भैँसैगौडा र चन्द्रकोट पनि चरा अवलोकनका लागि उपयुक्त थलो मानिन्छ । एक हजार चार सयदेखि एक हजार आठसय मिटरसम्मको उचाईमा रहेका टाकुरामा समेत चराचुरुङ्गीको चिरबिर, लोभलाग्दो  रङ र आकार नजिकैबाट देख्दा जोकोही मन्त्रमुग्ध नै हुने गर्दछन् ।
      
    पदमार्गको अर्को आकर्षण हो, होमस्टे ट्रेक । यस पदमार्गमा प्रायः गुरुङ र मगर समुदायको बसोबास रहेको छ । स्याङ्जा नेपालको ग्रामीण पर्यटन तथा होमस्टे सुरुआत गर्ने अग्रणी जिल्लामा परिचित छ । यही घरवास पर्यटनअर्थात होमस्टे यस पदमार्गको सबैभन्दा महत्वपूर्ण पक्ष हो । विशुद्ध गुरुङ तथा मगर बासस्थानमा पाउने आतिथ्यताले पदयात्रालाई विशेष बनाउँछ । प्रायः विदेशी यही संस्कृति र जीवनशैलीमा रम्नकै लागि यस पदमार्गमा आउँछन् । स्थानीय अग्र्यानिक उत्पादनबाटै पर्यटकलाई खानपान गराइन्छ । स्वदेशी होस् या विदेशी यस प्रकारको स्वच्छ अन्न खान पाउँदा खुसी नै हुन्छन् । पदमार्गमा पर्ने चन्द्रकोट होमस्टे र साँधखोला होमस्टेमा देखाइने विभिन्न सांस्कृतिक नृत्यु र गीतले पदयात्राको थकान मेटाउँछ । सोराठी, घाँटु नाच, सालै जो, झ्याउरे, झोर्रा नाच, कौडा नृत्य तथा कृष्ण चरित्रजस्ता संस्कृतिलाई यो ‘मिलिनियम ट्रेक’मार्फत नजिकैबाट अवलोकन र अनुभव गर्न सकिन्छ । 
      
    स्याङ्जाको कोल्माकोट र भैसेगौडा तथा सुन्तलाबारी–गहतेजस्ता स्थलमा मिलिनियम ट्रेक पदयात्रामार्फत आउने पर्यटकका साथै स्थानीयहरु पनि राम्रो उपस्थिति हुने गरेको पाइछ । यसको ज्वलन्त उद्दाहरण हो स्याङ्गजाको कोल्माकोट । यहाँ व्यावसायिक रुपमा पर्यटकीय गतिविधि फस्टाउँदै गएकाले निजी तवरबाट आधुनिक तथा सुविधायुक्त लज तथा होटलमा समेत लगानी भएको छ । पदयात्रीलाई लक्षित गरी स्याङ्गजाकै भैँसेगौडामा सामुदायिक होमस्टे भवन बनाएर अत्याधुनिक लज सरह सुविधायुक्त बासको दिइरहेको पाइन्छ । पदमार्गको विभिन्न स्थलमा विकट गाउँदेखि आधुनिक सुविधायुक्त घरबासको व्यवस्था छ ।

      नेपालभित्रको मध्यपहाडी पदयात्राका रुपमा विकसित यस ट्रेकले सामुदायिक स्तरमा सकारात्मक प्रभाव छाड्न सफल भएको छ । पदमार्गका विभिन्न गाउँहरु पर्दछन् । मिलिनियम ट्रेकसँग आवद्ध भएसँगै व्यापार र आयस्रोतको बाटो मात्र खुलेको छैन, यसले स्थानीयवासीमा सरसफाइमा ध्यान दिने,  पाककला तथा शैलीमा रुपान्तरण गर्ने र विदेशी भाषा समेत सिक्ने मौका पाएका छन् । मिलिनियम ट्रेकसँग जोडिएसँगै पर्यटकीय पूर्वाधार विकासका निम्ती स्थानीय सरकार र प्रदेश सरकारको समेत नजरमा पर्ने भएको हुनाले जनस्तरमा यस पदमार्गको प्रभाव निकै सकारात्मक परेको देखिन्छ ।

    यसैगरी पदमार्ग भएर गुज्रने विभिन्न छहरा तथा झरनामा क्यानोनिङ र विभिन्न भीर र पाखाहरूमा रक क्लाइमिङजस्ता साहसिक पर्यटन गतिविधि समेत भइरहेको छ । प्याराग्लाइडिङ पनि यस ट्रेकमा पर्ने अर्को विशेषता हो । ढोरफिर्दी–माझकोट मनकामना ग्रामीण पर्यटन विकास समितिको सन् २००० मा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरिएपपछि यस पदमार्गको नामाकरण ‘मिलिनियम ट्रेक’ गरिएको हो । यस पदमार्गले सन् २०२५ मा रजत जयन्ती मनाउन लागेको छ । सशस्त्र युद्धकालको बीचमा सुरुआत भएको यो पदमागको प्रबद्र्धनमा त्यसपछिका दिनमा केही कम भएको समेत पाइन्छ । यद्यपि निरन्तरको प्रयास र दृढतामा जुझ्ने समुदायहरुले आजको दिनसम्म यस पदमार्गलाई सफल पार्न लागिपरेका छन् ।
      
    विदेशी पल्टनबाट अवकाश लिएर फर्केका लाहुरे बादेखि वैदेशिक रोजगारको अनुभव बटुलेर गाउँमा नै केही गर्छु भन्ने युवाका लागि मिलिनियम ट्रेक विदेशी मुद्रा कमाउने अवसर  बनेको छ । कूल ७२ किमी लामो यस पदमार्गले दिने मनमोहक अनुभव जीन्दगीभर यादगार रहने गरी छाप बसाउन सफल रहेको छ । पदमार्गले सरकारी र निजी दुवै स्तरबाट विश्व बजारमा सगरमाथा र अन्नपूर्ण पदमार्गको जस्तै बजारीकरणको अपेक्षा गरेको छ । (लेखक नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयमा कार्यरत हुनुहुन्छ)