काठमाडौँ, २५ वैशाखः नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले कमलपोखरीमा सोमबार एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो ।
टिजरमा मुख्य भूमिकामा रहेका अभिनेता दयाहाङ राई, अभिनेतृ पशुपति राई र बालकलाकार प्रसन राईलाई विशेष स्थान दिइएको छ । गाउँमा बाटो पुग्नुभन्दा पहिलाको अवस्थालाई टिजरमा देखाइएको छ ।
फिल्म गाउँमा मोटरबाटो पुगेपछि बाउ–छोराबीच उत्पन्न हुने विवादमा आधारित भएको बताइएको छ । यो फिल्म भोजपुरको दुर्गम गाउँमा छायांकन गरिएको हो ।
‘गाउँ आएको बाटो’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रशंसा कमाउन सफल फिल्म हो । टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा यो फिल्मको वर्ड प्रिमियरसमेत भएको थियो ।
मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता अमोद राई हुन् । सञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई भने कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
जेठ २५ गते यस फिल्मको प्रदर्शन मिति तोकिएको छ । निर्देशक सुब्बाले सात वर्षपछि यो फिल्म ल्याएका हुन् ।
हेर्नुहोस् टिजर