बैशाख २५, २०८१ मंगलबार

काठमाडौँ, २५ वैशाखः फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्मको प्रदर्शन मिति बाहिर ल्याएका हुन् । 

बाबु र छोरी बिचको स्नेह, सम्बन्धको कथा समेटिएको फिल्मले समाजमा रहेको विसङ्गति  र विकृति विरुद्ध समेत आवाज उठाउने लेखक तथा निर्देशक सुवेदीले बताए । फिल्ममा नारीको कथा निकै गम्भीरताको साथ प्रस्तुत गरिएको उनले सुनाए ।

फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,सन्देश लिम्बु,पवन केसी, जगदीश अधिकारी लगायतको अभिनय छ ।

दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी छन् । दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ ।

बाबु श्रेष्ठले छायाङ्कन गरेको फिल्ममा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङ, तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो । त्यसतै सौराहामा आयोजित दक्षिण एसियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो ।

फिल्म वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको हो ।