बैशाख २५, २०८१ मंगलबार

सिमकोट (हुम्ला), २५ वैशाख : हुम्लाको सिमकोट गाउँपालिका–१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयलाई भवन अभाव भएको छ । भवन अभाव भएपछि बालबाविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउन समस्या भएको छ । 

विद्यालयका प्रधानाध्यापक राजु लामाले भन्नुभयो, “विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।” कक्षा २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिँदैआएको बताउनुभयो । विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेका उहाँको भनाइ छ । “चार र पाँच कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ”, प्रधानाध्यापक लामाले भन्नुभयो ।  

विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा चार र पाँच कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताउनुभयो । “एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउँदा उनीहरुलाई पढाएको कुरा बुझ्न समस्या हुने गरेको शिक्षक फडेराले बताउनुभयो । 

विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेरा बताउनुहुन्छ । कक्षा १ मा छात्रछात्रा गरी ३३, कक्षा दुईमा चार, कक्षा तीनमा आठ, कक्षा चारमा चार तथा पाँचमा तीन विद्यार्थी अध्ययनरत रहेका उहाँले जानकारी दिनुभयो । बालबिकास कक्षामा ७० विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित चार स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी रहेका छन् ।