ललितपुर, ४ जेठ ः ऐतिहासिक सभ्यता, कन्फ्यूसियस मूल्य–मान्यता, बेल्ट एण्ड रोडको अवधारणा, पन्डा कूटनीति र सवल एवं सक्षम नेतृत्वका कारण उदयमान शक्तिका रूपमा चीन देखापरेको धारणा व्यक्त गरिएको छ ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) र भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (एल्टाई) द्वारा आज यहाँ आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरिरहनुभएका प्रशान्तकुमार विकले स्पष्ट दृष्टिकोणसहित स्रोतसाधनको अधिकतम परिचालन गर्दै शाक्ति केन्द्र बन्न चीन सफल भएको बताउनुभयो ।
“चिनियाँ संस्करणको सफ्टपावर” विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले आपसी सम्मान र भाइचारालाई अभिवृद्धि गर्ने कन्फ्युसियस दर्शनलाई वैदेशिक नीतिमा समावेश गरी सहयोग, सहकार्य, सम्मान र सहअस्तित्वका अवधारणा बमोजिम चीन अघि बढिरहेको छ भन्नुभयो ।
सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञवालीले ‘डिस्लेक्सीया’को विषयमा कार्यपत्र प्रस्तुत गर्नुहँदै बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सीया’ रोग नभई एक अवस्था रहेको बताउनुभयो ।
उहाँले ‘डिस्लेक्सीया’ हुँदा बालबालिकाले अक्षर ठम्याउन नसक्ने, बुझाइमा समस्या आउने, अक्षर उल्टो लेख्ने, कम बोल्ने, लजाउने जस्ता लक्षण देखाउने र यस्ता क्रियाकलापबाट अभिभावक एवं शिक्षक पीडित भएको बताउनुभयो । दुई दिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसअन्तर्गत नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञ सहभागी हुनुभएको थियो ।
प्रा मोतिकला सुब्बा देवान, लोयाल कलेज चेन्नाइ भारतका डा के.एस अन्टोन्सियाम, काठमाडौँ विश्वविद्यालयका अङ्ग्रेजी भाषा विभाग प्रमुख डा टीकाराम पौडेल लगायत ४० भन्दा बढी विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेल्टाका राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमालले नेपालमा बुहस्तरीय विज्ञहरुको विचार विमर्श गरी बुझ्ने र बुझाउने सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।