महेन्द्रनगर (कञ्चनपुर), ४ जेठः सुदूरपश्चिम प्रदेश सरकारको पहलमा कैलाली र कञ्चनपुरमा खेलकुद गतिविधिलाई बढावा दिने उद्देश्यका साथ दुई ठूला खेल संरचना निर्माणले गति पाएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा रु १३ करोडको लगानीमा बहुउद्देश्यीय कभर्डहल निर्माणाधीन छ । गत वर्षदेखि निर्माण सुरु गरिएको बहुउद्देश्यीय कभर्डहल निर्माणको अवधि तीन वर्ष रहेको प्रदेश सामाजिक विकास मन्त्रालयका इन्जिनियर हेमराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
“प्रदेश र राष्ट्रियस्तरका इण्डोर खेल सञ्चालन गर्न सकिने उद्देश्यसहित महेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहल बनिरहेको छ”, उहाँले भन्नुभयो, “टीकापुरमा अध्ययन र खेलसँगै अगाडि बढाउने ध्येयले स्पोर्टस एकेडेमी निर्माण थालिएको हो”, उहाँले बहुउद्देश्यीय कभर्डहल र स्पोर्टस् एकेडेमी गरी दुई संरचनाको ४० प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिनुभयो ।
टीकापुरमा निर्माणाधीन स्पोर्टस् एकेडेमी रु नौ करोड ९० लाखको लगानीमा निर्माण भइरहेको छ । “प्रदेश खेलकुद परिषद्ले विस्तृत परियोजना प्रतिवेदनसहित योजनाबद्ध तरिकाले यहाँको खेलकुदको विकास एवं विस्तार गर्ने उद्देश्यसहित प्रस्ताव अघि सारेअनुरुप योजना सञ्चालित छन्”, उहाँले भन्नुभयो, “यी दुई ठूला संरचना बने कार्यविधि बनाएर सञ्चालन हुनेछ ।”
खेलाडी उत्पादनको उर्वरभूमि मानिएको सुदूरपश्चिम प्रदेशले हालै सम्पन्न विभिन्न राष्ट्रियस्तरमा पनि उच्च प्रदर्शन गरेको छ । राष्ट्रपति रनिङ शिल्ड र अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेश अग्रस्थानमा रह्यो ।
त्यसैगरी अलराउण्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीको गृहनगर महेन्द्रनगरमा पनि क्रिकेट खेलमैदान बनाउने योजनासहित नेपाल क्रिकेट सङ्घ (क्यान)ले सक्रियता बढाएको छ । महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना अघि सारिएको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
“विद्यालयसित मौखिकरूपमा क्रिकेटमैदान बनाउने कुराकानी भएर क्यानका केन्द्रीय अध्यक्षले समेत स्थलगत निरीक्षण गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले प्रारम्भिक रूपमा माटो भरान कार्य चलिरहेको छ ।” उहाँले क्रिकेट सङ्घले विद्यालयसित सहमतिमा सम्झौता गरेर मैदान सङ्घले सञ्चालन गर्ने योजना रहेको चन्दको भनाइ छ ।
यहाँको कभर्डहलमा निर्माणाधीन क्रिकेट मैदान भने अलपत्र छ । यहाँ दुई आर्थिक वर्षदेखि मैदानका लागि बजेट आएको छैन । “यहाँ क्रिकेट मैदानमा रु एक करोड ५० लाख खर्च भइसकेको छ”, चन्दले भन्नुभयो, “कोरोना महामारीपछि बजेट आउन रोकियो ।” उहाँले खेलाडी उत्पादनमा कञ्चनपुर अघि भए पनि खेलमैदान निर्माणलाई प्राथमिकतामा नराखिएको दुखेसो पोख्नुभयो ।