जेठ ४, २०८१ शुक्रबार

जोहानेसबर्ग, ४ जेठ: दक्षिण अफ्रिकाले दुर्घटना हुँदा परिसरमा रहेका मानिसहरूको सङ्ख्यालाई घटाउँदै शुक्रबार एउटा भवन भत्किएको स्थानमा उद्धार कार्य अन्त्य गरेको छ । 

दक्षिणी सहर जर्जमा निर्माणाधी पाँच तले भवन मे ६ मा भत्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो । प्रान्तीय सरकारले दुई सय ६० घन्टासम्म जारी खोज तथा उद्धार अभियानका क्रममा २९ जनालाई भग्नावशेषबाट जीवित उद्धार गरिएको बताएको छ । 

वेस्टर्न केपका प्रमुख एलन विन्डेले भन्नुभयो, “यो हामी सबैका लागि असाधारणरूपमा कठिन समय रह्यो ।” उहाँले अब अनुसन्धानमा ध्यान केन्द्रीत हुने बताउनुभयो । 

“मेरो हार्दिक समवेदना ३३ पीडितका परिवारलाई छ, हामी तपाईंहरूको पीडा साझा गर्दछौँ र यो त्रासदीका लागि जिम्मेबार मानिसलाई जवाफदेही बनाउन सबैथोक गर्नेछौँ”, उहाँले भन्नुभयो । 

ठेकेदारबाट प्राप्त जानकारीका आधारमा विपद्को समयमा मुख्यगरी निर्माण श्रमिकसहित ८१ जना साइटमा रहेको प्रहरीको अनुमान गरेको अधिकारीहरूले बताएका छन् । सञ्चालन बन्द भएपछि यो सङ्ख्या घटेर ६२ भयो । 

मृतकहरूमा छ महिला र २७ पुरुष रहेको जर्ज नगरपालिकाले बताएको छ । चार जनाको अहिले पनि सनाखत हुनसकेको छैन भने जीवित १० जनाको अस्पतालमा उपचार भइरहेको छ । 

“यो अपरेसनमा उद्धार दर ५४ दशमलव आठ प्रतिशत देखिएको छ, यो वास्तवमा उल्लेखनीय हो”, विन्डेले भन्नुभयो । उहाँले यसको तुलना यस्तै प्रकारको भवन भत्किनेमा अत्यन्त कम अन्तर्राष्ट्रिय दरसँग गर्नुभयो । “यो हाम्रा उद्धारकर्मीको बहादुरी र व्यावसायिक कामको प्रमाण हो”, उहाँले भन्नुभयो । 

उक्त भवनमा ४२ अपार्टमेन्ट रहने थिए र उक्त योजनाको अनुमति प्राप्त भएको थियो । भवन भत्किनुको कारण अझै खुल्न सेकेको छैन ।