तेल अभिभ,७ जेठ: मे महिनाको शुरूदेखि इजरायलले राफाह क्षेत्रमा सैन्य कारबाही सुरु गरेदेखि करिब आठ लाख मानिसहरु राफाहबाटे विस्थापित भएका छन् ।
प्यालेस्टाइनस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनडब्लुएआर) का प्रमुखले शनिबार गाजामा नागरिकहरूको अधिक सुरक्षा, सुरक्षित मानवीय पहुँच र युद्धविरामको लागि नयाँ अपील गर्दै विस्थापित प्यालेष्टिनीको पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो ।
राफाहको लगभग आधा जनसङ्ख्या वा आठ लाख मानिसहरू सडकमा रहेको युएनडब्लुएआरका आयुक्त फिलिप लाजारिनीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा उल्लेख छ ।
मानिसहरूलाई तथाकथित सुरक्षित क्षेत्रहरू खाली गर्नका लागि गरिएको आदेशपछि, मानिसहरू मुख्यतया गाजा र खान युनूसका मध्य क्षेत्रहरूमा गएका हुन् ।
गाजा र खान युनिसमा अत्यधिक भवनहरू ध्वस्त भएको र उनीहरूको व्यवस्थापनमा कठिनाई हुने उहाँले बताउनुभयो ।
गाजाका मानिसहरू ‘सुरक्षित’ वा ‘मानवीय’ क्षेत्रमा सर्न सक्छन् भन्ने दाबी झुटो रहेको बताउँदै प्रत्येक पटक यसले नागरिकहरूको जीवनलाई गम्भीर जोखिममा पारेको लाजारिनीले उल्लेख गर्नुुभयो ।
गाजामा कुनै सुरक्षित क्षेत्र नभएको र त्यस ठाउँका कुनै पनि मानिसहरु सुरक्षित नरहेको उहाँले उल्लेख गर्नुभयो ।