जेठ १३, २०८१ आइतबार

काठमाडौँ, १३ जेठ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पछिल्लो समय मुलुकले पूर्वाधारका क्षेत्रमा फड्को मार्न थालेको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले सडक, विद्युत् र डिजिटल पूर्वाधरलगायतको विकासबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्दै गरेको बताउनुभयो । 

    पूर्वअध्यक्ष रेग्मीले नेपाल गतिशीलरुपमा विकासका काम गर्दै अघि बढिरहेको छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताउनुभयो । पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुला तथा हिमालदेखि तराईसम्मका भूभागमा भइरहेका विकास निर्माणका गतिविधि प्रदर्शनीमा राखिएकाले पूर्वाधारका क्षेत्रमा गतिशीलता रहेको स्पष्ट परेको उहाँको भनाइ थियो ।

    “प्रदर्शनीले तमोर, कोशी, कालीगण्डकी र कर्णाली करिडोर तथा मानव विकास सूचकलगायत पूर्वाधारका प्रगतिका सम्बन्धमा स्पष्ट पारेको छ”, पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “प्रदर्शनीले नेपालमा पूर्वाधारका क्षेत्रमा केही पनि भएको छैन भन्ने गलत ‘भाष्य’लाई चिरेको छ ।”

    ‘समृद्धिको आधार क्षेत्रगत पूर्वाधार’को विकास भएको उल्लेख गर्दै उहाँले विकाशील मुलुकका लागि पूर्वाधार महत्वपूर्ण पक्ष भएको बताउनुभयो । “नेपालभर पूर्वाधारका क्षेत्रमा भइरहेका गतिविधिको झझल्को प्रदर्शनीले दिएको छ, पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्मका विकासका गतिविधि समेटिनु सकारात्मक पहल हो”, पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो ।  

    मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा अघि बढाउन रोजगारी र उत्पादकत्व वृद्धि अनिवार्य सर्त भएको जनाउँदै पूर्वअध्यक्ष रेग्मीले सीमान्तकृत वर्गले समृद्धिको महसुस गर्न सक्नुपर्ने बताउनुभयो । निर्माण भइरहेका आयोजनालाई सम्पन्न गरेर पूर्वाधारका क्षेत्रमा फड्को मानुपर्नेमा जोड दिँदै उहाँले आयोजना सुरु गर्ने तर निर्धारित समयमै पूरा नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । 

    “नेपालमा आयोजना सुरु हुने तर समयमै सम्पन्न नहुने अवस्था देखिएको छ, आयोजना सुरु गर्नुअगावै लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ”, पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “थालनी गरेको परियोजना सम्पन्न गर्दै जाने र नयाँ योजनाको काम पनि अघि बढाउँदै जानुपर्छ ।” आयोजना समयावधिभित्रै निर्माण सम्पन्न नहुनुमा कार्यान्वयन पक्ष कमजोर भएको पाइएको उल्लेख गर्र्दै उहाँले यसलाई सुधार गरेर लैजानुपर्ने बताउनुभयो । 

    यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

    विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

    प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन् ।