मकवानपुर, १५ जेठ : वाग्मती प्रदेश सरकारले गणतन्त्र दिवसका अवसरमा प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मीलाई पुरस्कार प्रदान गरेको छ ।
गणतन्त्र दिवस मूल समारोह समिति वाग्मती प्रदेशद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशस्थित विभिन्न जिल्लाका सञ्चारकर्मीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा सञ्चारकर्मी सरिता दाहाल, शिवप्रसाद देवकोटा, राजकुमार सिग्देल, ईश्वरप्रसाद जोशी र सृजना वाइवा नगद रु २५ हजारसहित पुरस्कृत हुनुभएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । प्रदेश प्रमुख शर्मा र मुख्यमन्त्री जम्कट्टेलले संयुक्तरुपमा चलचित्र क्षेत्रका कलाकार तथा जिल्लाको पश्चिमी भेगमा पर्ने विभिन्न गाउँपालिकाको सहिद परिवारलाई सम्मान गर्नुभएको उहाँले बताउनुभयो । दर्जीका अनुसार प्रदेश मन्त्रिपरिषद् र सचिवहरुबीच भएको फुटबल प्रतियोगितामा प्रथम हुने मन्त्रिपरिषद्का ‘प्रमुख सचिव समूह’का नेता कामु प्रमुख सचिव गोविन्दबहादुर कार्कीलाई शिल्ड तथा कप प्रदान गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयद्वारा आयोजित वादविवाद प्रतियोगिताका विजयी विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गर्नुभएको थियो ।