जेठ १६, २०८१ बुधबार

नवलपरासी, १६ जेठ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको सुनवलमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तीकारी केन्द्र) को लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री महराले कृषिलाई पहिलो प्राथमिकतामा दिइ नीति तथा कार्यक्रम तयार भइरहेको जानकारी दिनुभयो । सिँचाइ सुविधाको विस्तारसहित कृषिउपजको बजारीकरण गर्न सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गर्ने पनि महराले बताउनुभयो ।

परम्परागत कृषि प्रवृत्तिलाई परिर्वतन गर्दै आधुनिक प्रविधिसहितको कृषि र कृषिलाई व्यवसायीकरण गरी रोजगारी सृजना गर्ने योजना रहेको मुख्यमन्त्री महराको भनाइ छ ।