जेठ १६, २०८१ बुधबार

मकवानपुर, १६ जेठ : बागमती प्रदेशसभामा आजदेखि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफm प्रारम्भ भएको छ ।  आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई छलफल गरियोस् भनि प्रस्ताव टेबुल गर्नुभयो । त्यसपछि सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभयो । 

बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले सरकारले ल्याइएको नीति तथा कार्यक्रममा प्रत्यक्ष रोजगारीलाई समेट्न पुराना उद्योगलाई सञ्चालनमा ल्याउनेतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले कृषिलाई उत्पादनमुखी बनाउन  प्रदेशको पायक पर्ने स्थानमा प्राङ्गरिक मल कारखानाको स्थापना गर्न बजेटमा व्यवस्था गरिनुपर्नेसमेत बताउनुभयो ।

यसैगरी प्रदेशसभा सदस्य राजु विष्ट, तारानारायण श्रेष्ठ, मसिना खड्का, ठूला थामी, बालकुमारी विश्वकर्मा, रामकुमार पहाडी, प्रभात तामाङ, मातृकप्रसाद भट्टराई, उत्तम जोशी र समिता खड्गीले नीति तथा कार्यक्रममाथि  धारणा राख्नुभयो । उहाहरूले विगतका वर्षहरुबाट सिक्दै धेरै नागरिक र क्षेत्र लाभान्वित हुने भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रमा छनोट भएका योजना मात्र आगामी वर्षको बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 

यसैगरी कृषि उत्पादन वृद्धिका लागि बाँझो जग्गामा खाद्यान्न र फलफूल खेती गर्न आर्थिक प्याकेज,  कृषकले लगाएका बालीको सुरक्षाका लागि बाँदर, बँदेललगायत अन्य जनावरबाट जोगाउन वैकल्पिक उपायको खोजी, कृषि सामग्रीको बजार व्यवस्थापनका लागि ध्यान दिन उहाँहरूले आग्रह गर्नुभयो । 
प्रदेशसभाको अर्को बैठक भोलि जेठ १७ गते बिहान १० बजे बस्ने छ ।