काठमाडौँ, १८ जेठः फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्ध भएकी छन् । निर्माण पक्षले लिखित सम्झौतापछि बुधबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो ।
फिल्मका लेखक एवं निर्देशक सरोज पौडेलका अनुसार अञ्जना केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएकी हुन् ।यस फिल्मको केन्द्रीय भूमिकाका लागि नायकतर्फ विजय बराल, मुकुन भुसाल र गायक प्रकाश सपूत अनुबन्ध भइसकेका छन् । अञ्जना यी मध्ये कसको जोडी बन्नेबारे निर्माण पक्षले खुलाएको छैन । स्रोतका अनुसार यस फिल्ममा नायकहरुमध्ये विजयको भूमिका अझ बढी सशक्त छ ।
निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हो । जेठ २२ बाट छायांकनमा निस्कने तयारीमा रहेको निर्माण पक्ष अहिले ‘वर्कसप’मा व्यस्त छ । प्रदर्शनमा मिति २०८२ साललाई तोकिएको छ ।
यसमा भोलाराज सापकोटा, विनोद न्यौपाने, देशभक्त खनाललगायतको अभिनय रहने बताइएको छ । सेभेज सिज इन्टरमेन्टको प्रस्तुती रहने यस फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् ।