काठमाडौँ, १८ जेठः असार ७ बाट प्रदर्शनमा आउने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार चाबहिलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा प्रमुख नायिका पूजा शर्माको एक्सनलाई स्थान दिइएको छ । उनलाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ । नायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।
कार्यक्रममा नायिका पूजाले फिल्मको टिजर र एक्सन अवतारका तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ट्रोल भएकोमा गुनासो गरिन् ।
‘मेरो एक्सनलाई देखावटी भनेर टिप्पणी भयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।
ट्रेलर सार्वजनिकपछि उनले यस्ता गाह्रो एक्सन दृश्य कसरी गरेँ होला भन्ने प्रश्न मनमा उब्जिएको सेयर गरिन् ।
नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा पूजा, कुन्साङ, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।
रूपेश तामाङ निर्देशक रहेको यस फिल्मको कार्यकारी निर्माता पवन राना मगर हुन् भने देव मगर र अनुप गडाल निर्माता छन् । रविना थापाको कथामा सञ्जोग रानाको पटकथा र संवाद रहेको छ ।