विराटनगर, २३ जेठ : मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरण संरक्षण–संवद्र्धन, अनुसन्धान तथा जलवायु अनुकूलनमा आधारित दिगो विकासलगायतका नीति तथा कार्यक्रम कोशी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले वातावरण संरक्षण र संवद्र्धनमा सहयोगी ऐन, कानुन तर्जुमा गरी जैविक विविधताको संरक्षणसहित पारिस्थितिक प्रणालीको सुधार र सन्तुलनका पक्षमा प्रदेश सरकार क्रियाशील रहेको स्पष्ट गर्नुभएको छ ।
कोशी प्रदेश सरकारले भर्खरै सम्पत्र सगरमाथा दिवसका अवसरमा वातावरण क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान, स्रोतमाथि हुने गरेको मानवीय अतिक्रमण नियन्त्रण, जनसङ्ख्या चाप व्यवस्थापन, मानव स्वास्थ्य सुधार, प्रदूषण न्यूनीकरण, वातावरण सन्तुलन र दिगो विकासका क्षेत्रमा प्राथमिकता दिई काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण मनाइरहेको सन्दर्भमा मुख्यमन्त्री कार्कीले हाम्रो हावा, पानी, माटो, जैविक विविधताजस्ता वातावरणका आधारभूत अवयवको स्वच्छता र संरक्षणमा जुट्न प्रदेशवासी सबैमा आग्रह गर्नुभएको छ ।