जेठ ३०, २०८१ बुधबार

कटारी (उदयपुर),  ३० जेठ : कटारीस्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसको आफ्नै भवन निर्माण सम्पन्न भएको छ । भवन बिना नै  छ वर्षअघि स्थापना भएको क्याम्पसका विद्यार्थीले उदयश्री बहुमुखी क्याम्पसमा आश्रित भइ अध्ययन गर्दै आएका थिए ।

क्याम्पसले आफ्नै भवन निर्माण गरेको क्याम्पस व्यवस्थापन समितिका संयोजक केपी बरालले जानकारी दिनुभयो । “भवन बनिसकेको छ, अब प्रधानमन्त्रीको समय अनुकूल भएपछि उद्घाटन गर्छौं”, उहाँले भन्नुभयो, “यस क्षेत्रको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिका रहेकाले उहाँबाटै उद्घाटन गर्ने तयारी गरेका हौँ ।”

भवनसँगै क्याम्पसका लागि आवश्यक कम्पाउण्ड, छात्रावास निर्माणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । कृषि तथा वन विज्ञान विश्व विद्यालय वन विज्ञान सङ्कायमार्फत रु छ करोड ४९ लाख चार हजार लागतमा कटारी–५ मा क्याम्पस भवन निर्माण भएको हो  । विसं २०८० वैशाख २६ मा ठेक्का सम्झौता भएको भवन निर्माण कम्पनीले तोकिएको समयभन्दा पाँच महिना अगाडि  सम्पन्न गरेको हो । अठार महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने जिम्मा पाएको कामख्या कन्ट्रक्सन प्रालिले क्याम्पसको १२ कोठे, तीन तले भवन १३ महिनामै निर्माण गरेको हो । 

भवन निर्माण सम्पन्न भएको निमित्त क्याम्पस प्रमुख राजीव जोशीले बताउनुभयो । “भवन निर्माण सम्पन्न भएको छ अब हामी आफ्नै भवनमा पठनपाठनको तयारी गरिरहेका छौँ”, जोशीले भन्नुभयो, “भवन अभावको समस्या समाधान हुने भएको छ ।”

पठनपाठनका लागि अतिआवश्यक देखिएकाले भवन तीव्र गतिमा निर्माण गरिएको कम्पनीका प्रोपाइटर समुन्द्र लामिछानेले बताउनुभयो । उदयश्री बहुमुखी क्याम्पसको खाली समयमा आश्रित भइ पठनपाठन गरिरहेको क्याम्पसको आफ्नै भवन नहुँदा पठनपाठन गुणस्तरीय हुन नसकेको गुनासो सुनिँदै आएको थियो ।

वन विज्ञानजस्तो प्राविधिक विषय भए पनि आफ्नै भवन नहुँदा विद्यार्थीले चाहेजस्तो सिकाइ सिक्न नसकेको निमित्त क्याम्पस प्रमुख राजीव जोशीको भनाइ छ । यस क्याम्पसमा देशभरका दुई सय विद्यार्थी वन विज्ञान विषय अध्ययनरत छन् । विभिन्न जिल्लाबाट वन विज्ञान अध्ययन गर्न आउनेलाई छात्रवा नहुँदा बजारमा कोठा खोजेर बस्नुपर्ने बाध्यता छ । क्याम्पससँग २९ बिघा दुई कठ्ठा जग्गा छ । सोही जग्गामा क्याम्पसका थप संरचना निर्माण गरिने व्यवस्थापन समितिले जनाएको छ ।
---