जेठ ३१, २०८१ बिहिबार

काठमाडौँ, ३१ जेठ: अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘दान्भी’ आगामी असार ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममार्फत पूजा पहिलोपटक एक्सन अवतारमा देखिँदै छिन् ।

प्रेमकथाको फिल्ममा देखिँदै आएकी पूजाको एक्सनमा ‘दान्भी’ हो । एक्सन फिल्म आफूले ठुलै रिस्क उठाएर अभिनय गरेको पूजा बताउँछिन् ।

‘सधैँ एकै प्रकारको फिल्म गर्नुभन्दा फरक पनि हुन्छ र सिक्ने मौका पनि मिल्छ भनेर ‘दान्भी’ गरेको हो’, पूजाले भनिन्, ‘एक्सन के हो थाहा थिएन । अहिले धेरै नलेज भएको छ ।’ अहिलेसम्म गरेको अभिनयमध्ये सबैभन्दा गाह्रो एक्सन भएको बताएकी उनले मिहिनेत पनि धेरै गर्नुपरेको सुनाइन् ।

हुन त नेपाली फिल्ममा बेलाबेलामा महिला एक्सन देख्दै आएका छन् । ती फिल्मको एक्सनभन्दा ‘दान्भी’ को निकै फरक रहेको पूजाको दाबी छ । भन्छिन्, ‘फिल्ममा त्यस्तो एक्सन छ । जुन दर्शकले साच्चिँकै भइरहेको फिल्म गर्नु हुन्छ ।’ 

फिल्ममा पूजाको एक्सन त छ नै । फिल्मको मुख्य कलाकार समेत उनी हुन् । त्यसैले फिल्मको व्यावसायिक दबाब पनि उनी माथि छ । उनी पनि फिल्मको व्यवसाय गर्नुपर्ने दबाब आफू रहेको सुनाउँछिन् ।

रुपेश तामाङको निर्देशन रहेको फिल्ममा पूजाको अलवा किरण श्रेष्ठ, कुन्साङ बोमजोमको पनि मुख्य भूमिका रहेको छ । देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् ।

फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् । फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।