जेठ ३१, २०८१ बिहिबार

 काठमाडौँ, ३१ जेठ : रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह नगर किभ रिहमा शक्तिशाली मिसाइल आक्रमण गरेको छ। 

आवसीय भवनहरुलाई लक्षित गरेर भएको आक्रमणमा ९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। ठूला अपार्टमेन्टमा भएको आक्रमणमा केही व्यक्तिको उद्धार हुन बाँकी रहेको जनाइएको छ। युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लीमेन्कोका अनुसार भग्नावशेषबाट केही व्यक्तिलाई निकाल्न बाँकी छ। 

आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हरेक क्षण हरेक घण्टा आतंकवादी आक्रमण भइरहेको भन्दै युक्रेनको हवाई सुरक्षा मजबुद बनाउनुपर्ने अवस्था रहेको बताए। उनले आफ्ना सहयोगी राष्ट्रहरु अमेरिका तथा युरोपेली देशहरुलाई थप सहयोगको अपीलसमेत गरे। 

उनले आक्रमणपछिको भिडियो सार्वजनिक गर्दै विभिन्न ठाउँको अवस्था यस्तै दर्दनाक रहेको उल्लेख गरेको अल जजिराले जनाएको छ।