जेठ ३१, २०८१ बिहिबार

तुलसीपुर (दाङ), ३१ जेठ : प्यूठान मान्डवीका विशाल सुनारको चार वर्षअघि रुखबाट लडेर मेरुदण्डमा चोट लाग्यो । त्यसको उपचार काठमाडौँमा पनि गराउनुभयो । सञ्चो नभएपछि उहाँ दुई महिनाअघि मात्र दाङको तुलसीपुरस्थित अपाङ्ग समाज सुधारले सञ्चालनमा ल्याएको थेरापी सेन्टरमा उपचार गर्न आउनुभयो । 

    त्यस्तै सल्यान कपुरकोटका आपेन्द्र चन्दलाई पनि पाँच वर्षअघि उच्च रक्तचापले हान्दा ‘प्यारालाइसिस’ भयो । उहाँले विगतमा विभिन्न अस्पतालमा उपचार गरे पनि सञ्चो नभएपछि तुलसीपुरस्थित अपाङ्ग समाज सुधारकै थेरापीमा आउनुपर्यो । उहाँहरूमात्रै होइन, अहिले साविक राप्तीका पाँचवटै जिल्लाबाट उक्त थेरापी सेन्टरमा थेरापी गर्न आउनुभएको छ । 

    हालमात्र दैनिक १२ जना जति थेरापी गर्न आउने गरेको केन्द्रका संस्थापक अध्यक्ष हुमकान्त कँडेलले बताउनुभयो । सल्यान, प्यूठान, रोल्पा, दाङ, रुकुमलगायत जिल्लाका बिरामीले थेरापी गराइरहेको उहाँले बताउनुभयो । 

    अपाङ्ग समाज सुधारले सरकारको सहयोगमा उक्त थेरापी सेन्टर सञ्चालनमा ल्याएको हो । विसं २०७८ चैतमा उक्त थेरापी सेन्टर सञ्चालनमा आए पनि त्यसलाई सरकारले उल्लेख्य रूपमा सहयोग नगरेको कँडेलको गुनासो छ । अहिले वार्षिक रु चार लाख तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । 

    त्यसबाट एकजना थेरापिष्ट र दुईजना कार्यालय सहयोगीलाई तलब खुवाउने गरेको भए पनि तलब निकै न्यून रहेको उहाँले बताउनुभयो । थेरापिष्टलाई मासिक रु १५ हजारमात्र दिने गरिएको उहाँले बताउनुभयो । त्यस्तै दुईजना कार्यालय सहयोगीलाई रु १०–१० हजारमात्र दिन सकिएको उहाँले भन्नुभयो ।

    “सरकारकै सहयोगमा खोलिएको थेरापी सेन्टर हो, तर सरकारले दरबन्दी दिनसकेको छैन”, उहाँले भन्नुभयो, “त्यसले गर्दा हामीलाई काम गर्न निकै समस्या हुने गरेको छ ।” त्यतिमात्र कर्मचारीले नपुग्ने कँडेलको भनाइ छ । बिरामी थपिँदै गएको जनाउँदै दुईजना फिजियोथेरापिष्ट र तीनजना सहयोगी आवश्यक पर्ने उहाँले बताउनुभयो । भएकै कर्मचारीलाई पनि तलब खुवाउन नसकिएको अवस्थामा थप गर्न सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

    केन्द्रको एकतले भवनमा थेरापी सेन्टर सञ्चालनमा छ । थेरापीका लागि चाहिने सबै सामग्री भए पनि राख्ने ठाउँको अभाव छ । अर्को तला थप गर्न सकेमा मात्रै सहज सेवा दिन सकिने उहाँले बताउनुभयो ।

    “बिरामीलाई आवाससहितको सेवा दिने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो, “तर उचित भवन नहुँदा समस्या हुने गरेको छ ।”  अहिलेसम्म उक्त संस्थाबाट ३३ जनाले सेवा लिएका छन् । लुम्बिनी प्रदेशमा सरकारीस्तरबाट सञ्चालित दुईमात्र थेरापी सेन्टर रहेकाले यी थेरापी सेन्टरलाई सङ्घ र प्रदेश सरकारले पनि हेर्नुपर्ने उहाँ बताउनुहुन्छ ।