पाटन (ललितपुर), ३१ जेठः सरोकारवालाहरुले समाजलाई बहुआयामिक बनाउन सञ्चारमाध्यमले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । मिडिया एड्भोकेसी ग्रुपद्वारा आज ललितपुरमा आयोजित मिडियामा महिला नेतृत्वको दृश्यसम्बन्धी बहुसरोकारवालाबीच समूहगत छलफलका क्रममा उहाँहरुले महिलाहरुसाग पनि नेतृत्व क्षमता छ रहेको उल्लेख गर्नुहुँदै यसतर्फ मिडियाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष तथा पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले सञ्चारमाध्यमले महिलाका विषयमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । “महिलाले आफूलाई कमजोर नबनाइ आफ्ना कुरा निर्धक्कसँग राख्न पनि सक्नुपर्छ, मिडियाले पनि प्राथमिकता दिन जरुरी छ, महिलालाई हेर्ने दृष्टिकोण फराकिलो बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
उहाँले संस्थाको माथिल्लो जिम्मेवारीमा पुग्नु मात्रै नेतृत्व नभएको तर्क गर्दै उहाँले विभिन्न क्षेत्रमा देखिएका विकृतिविसङ्गतिको प्रतिरोध गर्नसक्नु पनि नेतृत्व हो भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वध्यक्ष तथा उद्यमी भवानी राणाले आफ्नो सफलतामा सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग मिलेको बताउनुभयो । “मेरो सफलतामा सञ्चारमाध्यमको ठूलो सहयोग छ, महासङ्घको अध्यक्ष हुन पनि धेरै सहयोग प्राप्त भएको थियो”, उहाँले भन्नुभयो, “सञ्चारमाध्यम निकै संवेदनशील क्षेत्र पनि हो, यसले धेरै कुरा प्रभाव पार्छ ।” उहाँले उद्योग वाणिज्य महासङ्घको विधान संशोधन गरेर महिलाको सहभागितालाई बढाउने काम भइरहेको बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष अध्यक्ष धर्मेन्द्र झाले सञ्चारमाध्यममा महिलाको आवाजले उल्लेख्य स्थान नपाएको धारणा राख्नुभयो । “महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन सञ्चारमाध्यमले पनि सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “महासङ्घमा अध्यक्ष हुँदा पत्रकार महिलालाई सदस्यता दिलाउनेदेखि उहाँहरुलाई नेतृत्वमा ल्याउनका लागि
विधान नै संशोधन गरेको थिएँ ।”
उहाँले नेतृत्वका लागि महिलाहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी सञ्चारमाध्यम राससमा महिला र दलित समुदायको सहभागिता र आवाजलाई प्राथमिकता दिएको बताउनुभयो । सूचना प्रविधिको आजको युगमा महिलाका लागि अवसरहरु असीमित भएकाले त्यसलाई उपयोग गर्नुपर्नेमा उहाँको भनाइ थियो ।
नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पछिल्लो समय सञ्चारमाध्यम तथा विभिन्न कार्यक्रममा वक्ताका रुपमा महिलालाई पनि स्थान दिन थालेको बताउनुभयो । “महिलासँग राम्रो नेतृत्व क्षमता छ, हामीले खोज्नुपर्छ, खोज्ने गरेका छौँ, समाजलाई बहुआयामिक बनाउन मिडियाले ध्यान दिनुपर्छ । महिला राष्ट्रपतिसम्म भएको विषय मात्रै भजाएर हुँदैन । सक्रियता अझ बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।
छलफलमा सहभागीहरुले महिलालाई नेतृत्वमा स्थापित हुनका लागि भएका समस्या, मिडिया दिएको स्थान र सुधार गर्नुपर्ने पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।
मिडिया एड्भोकेसी ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक बबिता बस्नेतले मिडियामा महिला राजनीतिकर्मीका विषय धेरै नआउने गरेकाले यसका लागि वातावरण बनाउन सरोकारवालाबीचमा छलफलको आयोजना गरिएको बताउनुभयो । पहिले महिला राजनीतिकर्मीका विषयवस्तु चार प्रतिशत कभरेज हुने गरेकामा अहिले छ प्रतिशत पुगेको अध्ययनका क्रममा देखिएको उहाँको भनाइ थियो ।
फ्रेडरिक इबर्ट स्टिफ्टुङका कार्यक्रम अधिकृत पवित्रा रावलले महिला नेतृत्वका समाचार कम हुने गरेको उल्लेख गर्दै आएका विषय पनि यौनसँग जोडेर बढी आउने बताउनुभयो । नेपाल बाहिर महिला नेतृत्वको विषयवस्तु बढी कभरेज गराउन ‘भिजिबिलिटी अफिसर’ को व्यवस्था गरेकाले त्यो अभ्यास सुरु गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।