साउन ४, २०७८ सोमबार

दार्चुला : भारतद्वारा अतिक्रमित नेपाली भूभाग 'कालापानी' र चीनको ताक्लाकोटसम्मका नाका र ती नाका जोड्ने मार्गको निगरानी र सुरक्षामा तैनाथ प्रहरीहरू पर्याप्त दरबन्दी, स्वास्थ्य सुविधा र हातहतियार नहुँदा आफैं असुरक्षित छन् ।

राष्ट्रियता र सुरक्षाका दृष्टिकोणले संवदेनशील क्षेत्रको सुरक्षाका लागि स्थापित पोष्टमा पर्याप्त सुविधा हुनुपर्ने छाङरुबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्य ग्याल्बु बोहरा बताउँछन् ।

६ महिना हिउँले ढाकिने छाङरु र तिंकर क्षेत्रमा खटिने सुरक्षाकर्मीहरू स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले जोखिममा छन् । सीमामा गस्ती तथा निगरानीका लागि अहोरात्र खटिने सुरक्षाकर्मी त्यहीक्रममा घाइते वा बिरामी हुँदा उपचारबाट बञ्चित हुने गरेका छन् ।

नेपाल, भारत र चीनको त्रिदेशीय नाकाको सुरक्षा तथा चोरी, शिकारी र तस्करी रोक्न दार्चुलाको तिङ्करमा स्थापना गरिएको प्रहरी चौकीमा १३ जना प्रहरी कार्यरत् छन् । यस्तै छाङरुमा रहेको सशस्त्र प्रहरी गुल्ममा सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ६५ जना कार्यरत छन् ।

दार्चुलाको सदरमुकाममा ६० रुपैयामा पाइने प्रतिकिलो चामलको मूल्य तिङ्कर पुग्दा २०० रुपैया हुन आउँछ । तर तिङ्करको प्रहरीले राशनका लागि पाउने रकम सदरमुकाम खलंगा, दुम्लिङ र पाँच दिनको पैदल दूरीमा रहेको तिङ्करको बराबर छ ।

सीतापुलमा स्थापना गरिएको प्रहरी चौकीको अवस्था पनि तिंकर प्रहरी चौकीको अवस्था भन्दा फरक छैन । ''यति दुर्गम र संवदेनशील क्षेत्रमा खटिएका प्रहरी र सदरमुकाममा कार्यरत् प्रहरीले सरकारबाट पाउने सेवा सुविधा समान छ'', एक प्रहरीले भने, "फेरि पनि हामी इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका छौँ ।"

अहिले यही गुल्मले तिङ्करदेखि कालापानीसम्मको सुरक्षा र निगरानी गर्ने गर्छ । सीमावर्ती भारतीय आकाशमा सुरक्षा, निगरानी र सुरक्षाकर्मीहरूको खानपिन र बन्दोवस्तीको व्यवस्थापनका लागि दिनहुँ दर्जनौ पटक हेलिकोप्टर उडिरहन्छ । तर त्यसैसँग जोडिएको नेपाली भू-भागमा भने छ महिना÷वर्षदिनमा हेलिकोप्टर मुस्किलले एक÷दुई पटक उड्ने गरेको छ ।

भारतद्वारा अतिक्रमित नेपाली भूभाग, कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुञ्जी, कुटी, नाभीलगायतका क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरूले संरचनागत र सङ्ख्यागत रूपमा बलियो उपस्थिति बनाउँदै लगेको छ । यता नेपाली सुरक्षाकर्मीहरु भने अभाव र तमाम कठिनाइसँग जुधिरहेका छन् ।

नेपाली भूभाग सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी बिरामी पर्दा उपचारका लागि भारत जानुपर्ने बाध्यता छ । स्थानीय बासिन्दासँगै सुरक्षाकर्मीहरू पनि तरकारी, खाद्यान्न र दैनिक उपभोग्य वस्तुका लागि भारतमै निर्भर छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख मनोहर भट्टले सञ्चार र सडकसँग जोडिन नसकेको तिङ्कर र छाङरुमा भौगोलिक विकटता, कठ्याग्रिँदो जाडाका बाबजुद पनि प्रहरीले त्रिदेशीय नाकाको सुरक्षाको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको बताए ।