काठमाडौँ, २ असारः नायिका पूजा शर्मा फिल्म ‘दान्भी’मा पहिलो पटक एक्सन अवतारमा देखिँदै छिन् । उनको यो पहिलो एक्सन फिल्म हो । जेठ १० गते ‘पुजार सार्की’ र ‘फर्कीफर्की’सँग हलमा प्रतिस्पर्धा हुने भएपछि यसको प्रदर्शन मिति सारिएको हो ।
दान्भीका लागि पूजाले एक महिना फाइटको प्रशिक्षण लिएको थिइन् । प्रेमकथामा आधारित फिल्मबाट बाहिरिन जोखिम मोलेरै एक्सन विधा रोजेको उनी बताउँछिन् ।
‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । फरक काम गरौँ न भनेर मैले दान्भी गरेकी हुँ,’ पूजा भन्छिन्, ‘यो फिल्म गर्दा मैले विशेषतः एक्सन सिक्न पाएँ । एक्सनको ज्ञान शून्य नै थियो । तर दान्भीको कामले धेरै कुरा सिकायो ।’
एक्सनमा फिल्ममा काम गर्दा सोचभन्दा कठिन भएको अनुभव उनले सुनाइन् । उनी भन्छिन्, ‘यो फिल्म अहिलेसम्मकै गाह्रो र मिहिनेत परेको भन्दा फरक पर्दैन ।’
यस फिल्म हेर्दा दर्शकले वास्तविक एक्सनको अनुभव गर्न पाउने उनको दाबी छ । उनी भन्छिन्, ‘एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ ।’
टिजर र ट्रेलर रिलिज भएपछि आफ्नो एक्सन अवतारलाई लिएर भएको आलोचना स्वीकार गर्न उनी तयार छैनन् । चल्तीका नायकहरू अनमोल केसी, प्रदीप खड्कालगायतले आफू जस्तै एक्सनमा उत्रिएको भएर तारिफ पाउने तर नायिकाले हतियार उचाल्दा आलोचनमा भएको उनको बुझाइ छ ।
‘मैले बोकेको गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो । तर एउटा केटीले बोकेको विषयलाई नकारात्मक आलोचना गरियो,’ उनी भन्छिन् ।
यद्यपि पुनः एक्सन फिल्म गर्नेमा पूजा ढुक्क छैनन् । यस फिल्मको प्रतिक्रियापछि मात्रै निर्णय लिने योजनामा उनी छन् । उनी भन्छिन्, ‘अहिले मलाई एक्सन फिल्ममा अफरहरू आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ ।’
दान्भी असार ७ बाट प्रदर्शन हुँदै छ ।