काठमाडौँ, २ असार : स्थानीय किसानबाट गुणस्तरको च्याङ्ग्रा भूवा सङ्कलन गरी समग्र पश्मिनाको गुणस्तर बढाउने उद्देश्यले मुस्ताङको लोमान्थाङमा च्याङ्ग्रा फाइवारबाट आधुनिक तरिकाले धलो झार्ने प्लान्ट (डिडस्टिङ प्लान्ट) स्थापना भएको छ । नेपालका लागि बेलायती राजदूत रब फेन, लोमान्थाङ गाउँपालिका प्रमुख टासी नुर्बु गुरूङ र उपप्रमुख छुमी विष्टले संयुक्तरूपमा उक्त प्लान्टको आज शुभारम्भ गर्नुभयो ।
उद्घाटनका क्रममा राजदूत फेनले नेपाली च्याङग्रा पश्मिनालाई फार्मदेखि फेसनसम्मको मूल्य शृङ्खलामा ब्रान्डिङ गर्नका लागि यस प्लान्टको स्थापनाले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । राजदूत फेनले महत्वपूर्ण गुणस्तर रहेको र पश्मिना क्षेत्रलाई बेलायतको बजारमा प्रवद्र्धनको लागि आफूले पहल गर्ने जनाउनुभयो । साथै, राजदूत फेनले लोमान्थाङमा चयाङग्रा भूवा सङ्कलन गर्ने कार्यको पनि सुरूआत तथा अवलोकन गर्नुभयो ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीयवासी विशेषगरी युवा तथा महिलाको रोजगारीका अवसर सिर्जना गर्न र आय आर्जनमा वृद्धि गर्न च्याङग्रा र फाइवरको उत्पादन र फाइबरलाई प्रवद्र्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना व्यवसायीले स्थानीय च्याङ्ग्रा किसानलाई पश्मिना मूल्य श्रृंखलामा समाहित गर्दै राम्रो मूल्य र बजार उपलब्ध गराउन पश्मिना उद्यमीले प्रयास गरिरहेको उल्लेख गर्दै यस क्षेत्रको प्रवद्र्धनका लागि सरकार र विकास साझेदार संस्थाको सहयोगको अपेक्षा गर्नुभयो ।
नेपाल पश्मिना उद्योग सङ्घले युनाइटेड किंगडम ट्रेड पार्टनरसिप प्रोग्राम नेपाल तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरेको यो प्लान्टले नेपालको पश्मिना उत्पादन र निकासीका लागि उच्च गुणस्तरको च्याङग्रा फाइबरको आपूर्तिलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
च्याङ्ग्रा पालनको लागि अग्रणी मुस्ताङ जिल्लाका स्थानीय कृषकहरुबाट सङ्कलन गरिएको फाइबरको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार निर्माण गरिएको उक्त प्लान्टको लोमान्थाङमा स्थापना भएको हो । विशेष गुणस्तरको लागि विश्वमा प्रसिद्धी कमाएको नेपाली पश्मिनाको माग अन्तर्राष्ट्रिय बजारमा अत्यधिक छ ।
च्याङ्ग्रा पश्मिनालाई सरकारले नेपालको उच्च सम्भावित निर्यातजन्य वस्तुको रूपमा लिएको छ । गत वर्ष, नेपाल सरकारले नेपाल पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२–२०२६ ल्याएको थियो । रणनीतिमा सन् २०२६ सम्ममा पश्मिना निर्यात ७५ मिलियन अमेरिकी डलरमा पु¥याउने लक्ष्य राखिएको छ ।