असार २, २०८१ आइतबार

काठमाडौँ, २ असार : कपन– बानेश्वर (कबा) साहित्यिक साप्ताहिकले ‘कबा प्रतिभा सम्मान’ चार साहित्यकारलाई प्रदान गर्ने भएको छ । साहित्यकारहरु वसन्त रिजाल, गणेश मिश्र, रुपाञ्जली चालिसे र जयराम विडारीलाई ‘कबा प्रतिभा सम्मान’बाट सम्मानित गरिने भएको छ । 

    साहित्यकारहरु वसन्त रिजाल, गणेश मिश्र र रुपाञ्जली चालिसेलाई ‘कबा विशिष्ट सम्मान’ तथा साहित्यिक पत्रकार जयराम विडारीलाई ‘महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मान गरिने भएको छ । यसैगरी २०८० सालका गरिएका रचनामध्ये ‘नालाङ्ग कबा रचना पुरस्कार’ (पुरुषतर्फ) डा छायादत्त न्यौपानेलाई, ‘पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’ (महिलातर्फ) गङ्गा आचार्य सापकोटालाई, ‘गङ्गा लिगल कबा रचना पुरस्कार’ (मोफसलतर्फ) राम आचार्य पुष्पप्रेमी (झापा)लाई, ‘भमरकोटे कबा सुशेली पुरस्कार’ सुशील आचार्यलाई तथा ‘हेमगङ्गा कबा रचना पुरस्कार’ (बालबालिका) काठमाडौँको बूढानीलकण्ठस्थित बालविकास बोर्डिङ हाइस्कुल कक्षा १० कि छात्रा अनिता तामाङलाई प्रदान  गरिने भएको छ ।

    ‘कबा’का प्रबन्धक साहित्यकार गङ्गा पौडेल संयोजक र साहित्यकारद्वय दुर्गा अधिकारी भमरकोटे र गङ्गा खड्का सदस्य रहेको प्रतिभा चयन समितिले पुरस्कृत हुनुहुने स्रष्टाको नाम आज सार्वजनिक गरेको हो । ‘कबा’को १२औँ वार्षिकोत्सवका अवसरमा आगामी साउन ४ गते  उक्त पुरस्कार प्रदान गरिने कपन– बानेश्वर (कबा) साहित्यिक साप्ताहिकका व्यवस्थापक विमल कोइरालाले जानकारी दिनुभयो । सोही कार्यक्रममा ‘कबा साहित्यकार उपचार कोष’को घोषणा गरिने छ ।