असार १८, २०८१ सोमबार

    काठमाडौँ, १७ असार : नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको छ । एस्थेटिक डान्स स्टुडियोले उक्त नाचघर सञ्चालन गर्न लागेको हो । 

    डान्स स्टुडियोका प्रमुख नम्रता केसीले असार २१ गते ‘प्रेमारम्भ’ शीर्षकमा नृत्यनाटिका प्रस्तुत गरेर नाचघरको उद्घाटन गरिने जानकारी दिनुभयो । प्रेमारम्भको निर्देशन र नाट्य परिकल्पना केसी आफैले गर्नुभएको छ । भारतको लखनउबाट कत्थक नृत्य विधामा स्नातकोत्तर गर्नुभएकी उहाँले नृत्य प्रशिक्षण गराउँदै आउनुभएको छ । नृत्यकला प्रस्तुत गर्ने उपयुक्त स्थानको अभाव भएकाले नाचघर स्थापना गर्न लागेको उहाँले बताउनुभयो । 

    कत्थक पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको भारतीय शास्त्रीय नृत्य विधा हो । उहाँका अनुसार मनोरञ्जनका विभिन्न क्षेत्रमध्ये, नाटक, फिल्म, साहित्य विधा जस्तै पछिल्लो समय कत्थक नृत्यमा युवाहरुको आकर्षण बढ्दोछ । नाटकको नियमित मञ्चन भएझैँ अबदेखि नाचघरले नियमित रुपमा नृत्यकला प्रस्तुत गर्ने जनाएको छ । “हरेक शुक्रबार र शनिबार नृत्यको नियमित शृङ्खला सुरु गर्ने भएका छौँ”, उहाँले भन्नुभयो, “जहाँ कत्थक र अन्य नृत्य शैली प्रस्तुत गर्नेछौँ ।” उद्घाटनको दिनदेखि सुरु हुने ‘प्रेमारम्भ’ नृत्यनाटिका यही असार २१ देखि भदौ २९ गतेसम्म मञ्चन हुनेछ । 

    नाचघरमा एस्थेटिक डान्स स्टुडियोका विद्यार्थीले नृत्य देखाउनेछन् । नृत्यकार दिपीका खतिवडाले नृत्यघरको अभाव हुँदा कला प्रस्तुत गर्ने पालो नपाइने अवस्था रहेको बताउनुभयो । “ठूला र महँगा नाचघरमा नृत्य देखाउँदा खर्चिलो हुने भएकाले कला देखाउने ठाउँको अभाव थियो, हामी कलाकारलाई सस्तो र सुलभ नृत्यघरको अभाव छ,” उहाँले भन्नुभयो, “एस्थेटिक डान्स स्टुडियोले नृत्यघर खोलेर कलाकारको प्रतिभा फुल्ने मन्दिर दिएको महसुस भएको छ ।”