असार १८, २०८१ सोमबार

काठमाडौँ, १७ असार : जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ ।

    प्रतिष्ठानले जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार आयामिक सिद्वान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि बैरागी काइँला र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी एलपि जोशी (लक्ष्मीप्रसाद जोशी)लाई प्रदान गर्ने भएको हो ।  

    प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोक संस्कृति–साहित्यको श्रीवृद्विमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय  क्षेत्रमा योगदान गरेकाले कवि काइँलालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । 

    त्यसैगरी विगत ६ दशकदेखि नेपाली लोकगीत गायन र सङ्कलन गर्दै  लोकगीत सङ्गीतको समुन्नतिमा लागि परेर यस क्षेत्रमा विशिष्ट योगदान दिँदै  आउनुभएका लोक संस्कृतिकर्मी जोशीलाई २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको हो ।

    पचास हजार राशिका यी दुवै पुरस्कार आगामी साउन १ गते प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो । नेपालको लोक संस्कृति तथा लोकगायनका क्षेत्रमा लामो समय काम गर्नुभएका जनकविकेशरी धर्मराज थापा तथा उहाँकी धर्मपत्नी सावित्री थापाको स्मृतिमा जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यी पुरस्कारको स्थापना गरेको हो ।