काठमाडौँ, २२ असार : जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा अहिले स्पेन र जर्मनीले प्रतिस्पर्धा गरिरहेका छन्। खेलको पहिलो हाफसकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । दुवै टाेलीले गाेल गर्ने केही सुन्दर अवसर सिर्जना गरेका थिए ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक भइरहेको छ । स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् ।
जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ ।
स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ ।
जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।