दुबई, ३० असार: दुबईका शासक शेख मोहम्मद बिन राशिद अल–मकतुमले आइतबार आफ्ना छोरा तथा इमिरेट्सका युवराजलाई संयुक्त अरब इमिरेट्स (युएई) को रक्षामन्त्रीमा नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनमा युएइएका प्रधानमन्त्री शेख मोहम्मदले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट्सको सरकारमा उपप्रधानमन्त्रीका रूपमा सामेल भएका छन् र उनलाई रक्षामन्त्रीमा नियुक्त गरिएको छ ।”
एकचालिस वर्षीय शेख हमदान शेख मोहम्मदका दोस्रो छोरा हुनुहुन्छ र उहाँले सन् २००८ देखि दुबईको युवराजको पद सम्हाल्दै आउनुभएको छ । सन् २००१ मा बेलायतको एलिट स्यान्डहर्स्ट मिलिटरी कलेजबाट स्नातक गर्नुभएका उहाँ सन् २००६ मा इमिरेट्समा रणनीतिक विकास योजनाका लागि जिम्मेबार निकाय दुबईको कार्यकारी परिषद्का अध्यक्ष बन्नुभएको थियो ।
उहाँका पिता शेख मोहम्मद सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापना भएदेखि रक्षामन्त्री हुनुहुन्थ्यो । त्यतिबेला उहाँ २२ वर्षको मात्र हुनुहुन्थ्यो ।
मन्त्रिपरिषद् पुनर्गठनमा विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानलाई पनि उपप्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको छ । सानो मन्त्रिपरिषद् पुनर्गठनले अन्य धेरै मन्त्रीहरूको फेरबदलका साथै मन्त्रालयहरूको विलय पनि गरेको छ ।
विश्वको सबैभन्दा ठूला तेल उत्पादकहरूमध्येको एक र संयुक्त राज्य अमेरिका, रुस तथा चीनको सहयोगी संयुक्त अरब इमिरेट्स मध्यपूर्वमा प्रमुख शक्तिका रूपमा विकसित भएको छ ।