विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् ।
लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार भएको खेलमा विश्व नम्बर दुई सर्बियन खेलाडी नोभाकजोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै स्पेनिस स्टार अल्कारेजले उपाधि जितेका हुन् ।
२१ वर्षीय अल्कारेजले ६–२, ६–२, र ७–६ को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारेका हुन् । उनले सन् २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए ।
युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्डस्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै वर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जितेका थिए ।
यसअघि सात पटक विम्बल्डन जितेका जोकोभिच भने लगातार दोस्रो वर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस वर्ष भने उपाधि विहीन बनेका छन् ।