साउन २, २०८१ बुधबार

ढाका, २ साउन : बंगलादेशमा सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरुद्ध प्रदर्शनका क्रममा कम्तीमा ६ जनाले ज्यान गुमाएका छन् ।

यस घटनापछि देशभरका सबै स्कुल र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । स्कुल र विश्वविद्यालय अर्को आदेश नआउन्जेल नखोल्न भनिएको छ ।

बंगलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूका सन्तानलाई आरक्षण दिइएको छ ।

सन् १९७१ मा बंगलादेश ठूलो युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएर नयाँ देश बनेको थियो ।

आलोचहरूले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकारनिकट समूहका सन्तानलाई अनुचित लाभका लागि राखिएको बताइरहेका छन् ।

शेख हसिनाले जनवरी महिनामा लगातार चौथो पटक जित हासिल गरेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजीबुर्रहमानकी छोरी हुन् ।

बंगलादेशमा पछिल्ला कयौँ दिनयता सरकारी जागिरमा आरक्षणको यस व्यवस्थाविरुद्ध विरोध चर्किरहेको छ ।

यसअघि कयौँ सातासम्म चलेको विरोध प्रदर्शनपछि सन् २०१८ मा आरक्षणको यो व्यवस्था हटाइएको थियो । गत महिना मात्रै यो व्यवस्थालाई अदालतले फर्काइदिएपछि बंगलादेशमा आन्दोलन सुरु भएको हो ।