साउन ३, २०८१ बिहिबार

पर्वत, ३ साउन : जिल्लामा कार्यरत हरेक स्वास्थ्यकर्मीले महिनाको एक दिन स्वास्थ्य शिक्षासम्बन्धी अध्यापन गराउन थालेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएकाले स्वास्थ्य समस्या र उपचार पद्धतिबारे जानकारी दिन विद्यालयमा पुगेर अध्यापन थालेका हुन् । 

    विद्यार्थीमार्फत समाजमा सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना फैलाउनका लागि अनिवार्य रुपमा महिनाको एक दिन अध्यापन गराउनुपर्ने नीति लिएसँगै स्वास्थ्यकर्मी विद्यालय पुग्न थालेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।

    ‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा भए पनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा स्वास्थ्य कार्यालयले मातहतका सबै स्वास्थ्यकर्मीलाई पायकपर्ने विद्यालयमा पुगेर महिनाको एक दिन अनिवार्य स्वास्थ्यबारे अध्यापन गराउन निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि नै स्वास्थ्यकर्मीले कम्तीमा पनि एक दिन विद्यालयमा पुगेर कुनै एक स्वास्थ्यसम्बन्धी विषयवस्तुमा अध्यापन गर्नुपर्ने नियम जारी गरिएको शर्माले बताउनुभयो । नागरिकको स्वास्थ्यलाई विद्यालय तहदेखि नै स्वस्थ राख्न र स्वास्थ्य शिक्षाप्रति बालबालिकाको ध्यानाकर्षण गराउन स्वास्थ्यकर्मीबाट कक्षा लिने प्रबन्ध गरिएको उहाँले बताउनुभयो । 

    शिक्षकहरुले नियमित रूपमा दिँदै आएको ज्ञानलाई स्वास्थ्यकर्मीबाट प्रदान गरिँदा विद्यार्थीमा उक्त विषयमाथि थप विश्वसनियता बढ्ने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले यो अभियान ुरु गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । स्वास्थ्यकर्मीले सामुदायिक वा निजी विद्यालयको प्राथमिक तह (१–३) देखि माध्यमिक तह (९–१२) वा इच्छा भएमा स्थानीय तहमा रहेका क्याम्पसमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्नेछन् । 

    ‘हरेक महिना बाँड्छौँ हामी निःशुल्क ज्ञानः एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा हाम्रो अभियान’ नाराका साथ साउनको पहिलो सातादेखि अभियान सुरु गरिएको छ । कार्यालयले कुन महिनामा विद्यार्थीलाई केकस्ता विषय वस्तुमा ज्ञान दिने भनेर तालिका तयार पारिएको जनाएको छ । 

    तालिका अनुसार वैशाखमा औलो र खोप, जेठमा पोषण, महिनावारी, स्वच्छता र धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनको असर, असारमा डेङ्गु तथा लागुऔषध र यसको रोकथामको बारेमा सिकाइन्छ । साउनमा पूर्ण स्तनपान, तौल अनुगमन, विपद् र विपद् व्यवस्थापन, भदौमा आत्महत्या रोकथाम र किशोरकिशोरीको स्वास्थ्य, असोजमा रेबिज र मानसिक स्वास्थ्य, कात्तिकमा नसर्ने रोग र विषादीरहित खाद्य प्रवद्र्धनका लागि स्वास्थ्यकर्मीले कक्षा लिने भएका छन् । 

    मङ्सिरमा एचआईभी/एड्स र लैङ्गिक हिंसा, पुसमा सडक दुर्घटना र सुरक्षा तथा सुरक्षित मातृत्व, माघमा आयोडिनको काम र प्रयोग, कुष्ठरोग तथा क्यान्सर, फागुनमा औषधिको समुचित प्रयोग, फोहर व्यवस्थापन तथा हात धुने विधि र चैतमा क्षयरोग, मुख स्वास्थ्य, खानेपानी लगायतका विषयमा स्वास्थ्यकर्मीले पढाउने छन् । कार्यालय प्रमुख शर्माका अनुसार जिल्लाका हरेक स्वास्थ्यचौकीमा चार÷पाँचजना स्वास्थ्यकर्मी छन् । गाउँका स्वास्थ्य संस्थामा बिरामीको चाप कम भएको बेलामा ती स्वास्थ्यकर्मीले आफ्नो पायकपर्ने विद्यालयमा पुगेर कक्षा लिँदा स्वास्थ्य क्षेत्रको मर्ममा प्रभावकारिता आउने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।

    जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्यकर्मी सबैसँग प्रविधिको ज्ञान नहुन सक्ने भएकाले कक्षा सञ्चालन गर्न आवश्यकपर्ने अध्यापन सामग्री कार्यालयले उपलब्ध गराएको छ । एउटा स्थानीय तहमा रहेका सबै स्वास्थ्यकर्मीले कम्तीमा एउटा कक्षा लिँदा मात्रै पनि यो अभियान सफल हुने स्वास्थ्य कार्यालयको विश्वास छ । जिल्लाका सातवटै स्थानीय तहमा तीन सयभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।