साउन ८, २०८१ मंगलबार

काठमाडौं– फिल्म ‘के घर के डेरा’को सिक्वेल ‘घर नम्बर २’मा निर्देशक एवं कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । फिल्मका निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार उनी फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र निश्चलबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक खनालका अनुसार अझै केही कलाकार छनोटको काम बाँकी रहेको छ । 

निर्माण पक्षले यसअघि खगेन्द्र लामिछाने अनुबन्ध गरिसकेको छ । निर्माण पक्ष साउन २५ गतेबाट छायांकनमा निस्कने तयारीमा छ । 

सिक्वेल भए पनि कथावस्तु फरक रहेकाले यसमा ‘के घर के डेरा’का कलाकार दोहोरिने सम्भावना न्यून रहेको बुझिएको छ । 

‘घर नम्बर २’को कथा लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा युवराज कार्कीको लगानी रहने छ ।