साउन ८, २०८१ मंगलबार

काठमाडौं– असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आउटल : दफा २१९’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको औपचारिक टिजरमा नायक सुशीललाई ‘एङ्ग्री लुक्स‘मा देख्न सकिन्छ । 

फिल्मको मुख्य भूमिकामा सुशील रहेका छन् । टिजरमा उनले चरित्र निर्माणका लागि मिहिनेत गरेको देख्न सकिन्छ । फस्टलुक पोस्टर सार्वजनिक भएसँगै सुशीलको लुक्सलाई लिएर फिल्मको चर्चा छ । उनले फिल्मका लागि ज्यान बनाएको प्रष्ट देखिन्छ। 

टिजरमा सुशीलको इन्ट्री गज्जब छ । सार्वजनिक टिजरमा फिल्मको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ ।

फिल्म एक्सन थ्रिलर जनरामा बनेको हो । संविधान दिवसको दिन रिलिज हुने यो फिल्मले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने निर्माणपक्षको दाबी छ । 


फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहरी लगायतका कलाकारहरूको अभिनय छ ।

बिक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्माताको रुपमा छन् ।