काठमाडौँ, ८ साउनः “मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरु कति सक्षम हुन्छन् भन्ने,” रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरु पोख्दै भन्नुभयो, “नेपाल र रुस दुई पुराना मित्रहरु हुन् । हाम्रा सम्बन्धका अनेक आयाम छन् ।
रुसले नेपालको शिक्षा, यातायातलगायत विविध क्षेत्रमा सोभियत सङ्घ हँुदादेखि नै सहयोग गर्दै आएको छ । दुई देशबीचका हाम्रा सम्बन्धलाई अझ पुनःताजगीकरण गराउन हामी लाग्नेछौँ । प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते प्राडा प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीबाट त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभयो ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले विभिन्न क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताउनुभयो । दुई देशका भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको ग्रेट मस्को सर्कस र नेपालको मौलिक नृत्य, अर्केष्ट्रा संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।
रुसलाई उपनिवेशबाट मुक्त गर्न तथा हिटलरको तानाशाही शासनका विरुद्धको स्वतन्त्रताको लडाइँका लागि भ्यादिमिर लेनिनले गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ पनि भएकाले दुई देशबीचको सम्बन्धका अनेक आयामहरु रहेको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल बसाइका क्रममा रुसका भलिबल टोलीलाई अनुकूल भएमा ‘माउन्टेन फ्ल्याइट’ गर्न सुझाव दिनुभयो ।
सो अवसरमा नेपालका लागि रुसी राजदूतावासका प्रथम सचिवले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र खेलकुदलगायत क्षेत्रका सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घले आगामी २०८२ जेठ ८ मा पर्यटन वृद्धिमा समेत योगदान दिने लक्ष्यका साथ सगरमाथा आधार शिविरमा राष्ट्रिय भलिबल दिवस मनाउन तयारी गरेकाले त्यसमा नेपाल सरकारबाट सहयोगको अपेक्षा गरेको थियो । महासचिव श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माणका लागि आग्रह गर्दा प्रधानमन्त्रीले ओलीले निर्माण गर्न पहल गर्ने बताउनुभएको थियो ।
सो अवसरमा गैह्रआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।