साउन ९, २०८१ बुधबार

गुल्मी, ९ साउनः यहाँ व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो । 

    यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउने र बाली बिरुवाको वृद्धि विकास पनि चाँडो हुने तथा अरू मलभन्दा यो मलको गुणस्तर पनि राम्रो भएका कारण जिल्लामा गँड्यौली मल उत्पादन गर्न लागिएको हो । धुर्कोट जैविक कृषि तथा गँड्यौला मल उत्पादन फार्मले इस्मा र धुर्कोट गाउँपालिकाको सङ्गम स्थानअन्तर्गत हुलाके स्थित सप्लिङ्गमा यसको उत्पादन सुरु भएको छ । 
 
    गाईभैँसीको मललाई गँड्यौलामार्फत प्रशोधन गरी यहाँका किसानहरु गँड्यौली मल उत्पादनमा लागेका हुन् । गाईभैँसीको मल र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाइने हुँदा यसले वातावरणलाई पनि स्वच्छ राख्न मद्दत पु¥याउँछ । आजभोलि खेतबारीमा धेरैजसो रासायनिक मलको प्रयोग गर्ने क्रम बढ्दै गएको र त्यसबाट क्षणिक रुपमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरे पनि दीर्घकालीन रुपमा त्यो मानव स्वास्थ्य र माटोमा समेत ठूलो असर पर्ने बताइएको छ । 

    गँड्यौली मलले बालीनालीको उत्पादनमा वृद्धि हुने, माटोको उर्वरतालाई बचाइराख्ने र उत्पादित वस्तुहरु शुद्ध जैविक हुने धुर्कोट अग्र्यानिक कृषि तथा गँड्यौला मल उत्पादन फार्मका सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । फार्मबाट उत्पादित गँड्यौली मलको मूल्य हाल रु ३० प्रतिकिलो रहेको छ । किसान मल किन्नका लागि फार्ममै पुग्ने गर्दछन । गँड्यौली मलको माग बढ्दै गएका कारण यतिबेला गाउँघरमा पर्याप्त मात्रामा मल पु¥याउन धौधौ परेको फार्म सञ्चालक भण्डारीले बताउनुभयो ।

    “गँडयौली मलले दिने उत्पादन र रासायनिक मलले दिने उत्पादन बराबर छ, यसको फाइदा भनेको माटोलाई स्वस्थकर राखी माटोको उर्बरा शक्तिमा वृद्धि गरी उत्पादित वस्तुहरु पनि जैविक खान पाइन्छ”, उहाँले भन्नुभयो । गँडयौली मल बनाउँदा सुरुमा गाईभैँसीको गोबर प्रयोग गर्ने, गोबरलाई ब्याड बनाएर राख्ने, त्यही बनाएको ब्याडमा गँड्यौला राख्ने र माथिबाट बाक्लो जुटको बोराले छोपिदिने गरिन्छ । यसरी छोपेको केही दिनपछि बुरबुर किसिमको गँड्यौली मल तयार हुन्छ । 

    माटो व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्लामा भर्मी उद्योग कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । ज्ञान केन्द्रको रु पाँच लाख र फार्मका तर्फबाट रु ७३ हजार गरि रु पाँच लाख ७३ हजार लागतमा उक्त कार्यक्रम सञ्चालनमा आएको बताइएको छ । माटो व्यवस्थापन कार्यक्रममार्फत किसानहरुलाई रासायनिक मलको प्रयोग कम गर्दै लैजाने उद्देश्यका साथ प्राङ्गारिक मलको उत्पादनलाई प्राथामिकता दिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 

    गँड्यौली मल उत्पादनलाई मुख्य प्राथमिकता दिने भन्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले आउँदा दिनहरुमा आम किसानलाई यसको महत्वका बारेमा जनचेतना जगाउँदै भर्मी मलको उत्पादन र यसको प्रयोगमा जोड दिने बताउनुभयो । जिल्लाको धुर्कोट, इस्मा, मदाने, चन्द्रकोट, छत्रकोट लगायतका पालिकामा हाल २४ किसानले गँड्यौली मलको उत्पादन गर्न सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।