साउन ९, २०८१ बुधबार

झापा, ९ असारः विर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित जैविक (अग्र्यानिक) तरकारी खुवाउने उद्देश्य राखेर १० सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । त्यसमा छवटा बिक्री केन्द्र र चार सङ्कलन केन्द्र रहेका छन् । 

    ‘पारिको होइन, वारिको खाउँ’ भन्ने मूल नारा नै राखेर कृषि क्षेत्रमा काम गर्दै आएको पालिकाले किसानले उत्पादन गरेको तरकारी बिक्री गर्न केन्द्र सञ्चालन गरेको हो । पालिकाले विभिन्न तरकारीका ब्लक क्षेत्र नै घोषणा गरेर किसानलाई अग्र्यानिक तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको तरकारी पालिकाले खरिद गर्ने र उपभोक्तासम्म पुर्याउन बिक्री केन्द्र सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताउनुभयो । 

    “नगरवासीलाई स्वस्थ राख्न पनि हामीले अग्र्यानिक तरकारीखेतीका लागि किसानलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब भारतबाट आयातीत तरकारी विस्थापित गरेर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउँछौँ ।” उहाँले पालिकाका एक सय १७ किसानले व्यावसायिक तरकारीखेती गरिरहेको जानकारी दिनुभयो ।

    विगतदेखि नै सूचीकृत किसानलाई मल, बीउ, सिँचाइ र उपकरण खरिदमा पालिकाले अनुदान प्रदान गर्दै आएको बताउनुभयो । पालिकामा पाँच कट्ठादेखि छ बिगाहा जमिनमा व्यावसायिक रुपमा मौसमी र बेमौसमी तरकारीखेती गर्ने किसान रहेका छन् । सामुदायिक तरकारी बिक्री केन्द्रका लागि पालिकाले आवश्यक पूर्वाधार तयार गर्ने प्रत्येक केन्द्रलाई रु एक लाख ५० हजारका दरले अनुदान उपलब्ध गराएको छ । उहाँका अनुसार नगरका विभिन्न स्थानमा किसानहरुकै समिति बनाएर सङ्कलन केन्द्र र उपभोक्ताहरुको समिति बनाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । किसान र उपभोक्ता मिलेर तरकारीको मूल्य निर्धारण गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले नगरपालिकाले कार्यक्रम सफल बनाउन चालु आर्थिक वर्षभित्रै तरकारी सङ्कलनका लागि एउटा गाडीसमेत खरिद गर्ने योजना अघि सारेको बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा मात्र रु एक करोड रकम विनियोजन गरेको शाखा प्रमुख कडरियाले बताउनुभयो । प्रत्येक पालिकाले किसानलाई प्राथमिकतामा राखेर विर्तामोड नगरपालिकाले झैँ काम गर्ने हो भने तरकारीका लागि भारतको मुख ताक्नुपर्ने कार्यको अन्त्य हुने मेचीनगर नगरपालिकाका सामाजिक अभियानकर्मी जानुका ओलीले बताउनुभयो । 

    गत आर्थिक वर्षमा भारतबाट पूर्वी नाका हुँदै रु चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन फर्सी, गोलभेँडा, हरियो खुर्सानी, भिण्डी, घिराँैला, लौका, चटेला, काँचो कटहर, स्कुसलगायत तरकारी आयात भएको क्वारेन्टाइन कार्यालय काँकडभिट्टा कार्यालयले जनाएको छ ।