अजयकुमार साह
धनुषा, १६ साउनः जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नव विवाहिता महिलाले गत बिहीबारदेखि मधुश्रावणी व्रत सुरु गरेका छन् । साउन महिनाको मौना पञ्चमी तिथिदेखि सुरु हुने मधुश्रावणी व्रत १५ दिनसम्म मनाउने गरिन्छ ।
देव, ब्राह्मण, कर्ण तथा सोनार जातको नवविवाहिता महिलामा सीमित रहेको यस पर्व अहिले सबै जातजातिका नवविवाहिताहरुले अखण्ड शौभाग्यवती, पतिको दीर्घायु तथा परिवारको सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा ‘मधुश्रावणी’ पर्व मनाउने गरेको जनकपुरधाम किशोरी टोलकी ज्योतीदेवी झाले बताउनुभयो ।
मिथिला संस्कार र परम्पराअनुसार नवविवाहित मैथिल महिलाका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्वमध्ये एक हो । यो व्रत श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइने गरिन्छ । व्रतको अघिल्लो दिन व्रतालु महिला बिहानै नुहाइधुवाइ गरेपछि लसुन प्याज, माछा, मासु नुन केही नखाई शुद्ध खानेकुरा खान्छन् । त्यस दिनलाई मैथिली भाषामा ‘नहाइखाइ’ भन्ने चलन छ ।
व्रतभरि हरेक दिन नवविवाहिता महिलाले साथीसङ्गीसँग साँझको समयमा आफ्ना घर–आँगन तथा गाउँभरि रहेका फूल र फूलको पातहरु, दुबो, पान, बेलको पातलगायत तोडेर ल्याउने साँझमा ल्याएको फूल त्यसको भोलिपल्ट देवीदेवतालगायत शिवपार्वतीको गीत, कथा सुनेर त्यहीँ फूल माता गौरी तथा विषहाराको पूजामा चढाउने गर्छन् ।
मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नाका साथै, भगवान् शिवलगायत नागनागिनको समेत कथा सुन्ने चलन रहेको पण्डित लालबाबु झाको भनाइ छ । पं झाका अनुसार मधुश्रावणीको पहिलो दिन तथा मौना पञ्चमीको दिन माता मानसादेवीको पूजाका साथै माटोले बनाइएका नागनागिन र हात्तीको पूजा गरिने विधि रहेको छ । नवविवाहिता महिलाले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव–वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइने गरिन्छ ।
वर्षा ऋतुमा सर्पको भूमि (जमिन)मा आगमन हुने भएकाले उनीहरूको सम्मानका लागि नाग–नागिनका साथै शिव–पार्वतीको पूजा गर्ने चलन रहेको मिथिला नगरपालिका ६ कि पुनम झाले बताउनुभयो । नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्र्रतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पका वंशका बारेमा चर्चित कथाहरुले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको महेन्द्रनगर धनुषाकी गीतादेवी झाले बनाउनुभयो । तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भनिन्छ । त्यस दिन महिलाको बिहे भएको घर पक्षबाट व्रतालु महिलाका लागि खाने रलगाउने लुगासमेत पठाउने गर्छन् ।
मिथिलामा चाडपर्व र संस्कृतिको विशेष महत्व रहेको छ । ज्ञान र विद्याका रूपमा परिचित थलो मिथिलमा महिलाको उच्च स्थान रहँदै आएको छ । मिथिलाको पोखरीको माछा र मखान प्रसिद्ध छ । मिथिलाको चाडपर्व बैज्ञानिक देखिन्छ । प्रत्येक चाडपर्वले कुनै न कुनै सन्देश दिएको छ । नेपाल र भारतमा मनाइने मधुश्रावणी पूजालाई कतै हरियाली तीज, श्रावणी द्वितीया भन्ने चलन रहेको छ ।
यस व्रतमा चढाइने बेलपत्र, मानको पात, धानको लावा, गाईको दूध, फलफूल, खिरलगायत अधिकांश सामाग्री प्रकृतिसँग जोडिएकाले यस पर्वले प्रकृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने पाठ सिकाएको संस्कृतविद्हरुको भनाइ छ । हिन्दू धर्मावलम्बीहरूले गर्ने हरेक पूजामा पुरुष पुरोहितले पूजा गरे पनि यस पूजामा महिलाको मात्र सहभागिता रहने गरेकाले व्रतको आफ्नै महत्व र विशेषता रहेको मैथिलीका साहित्यकार रामभरोस कापडी बताउनुहुन्छ । पूजा गर्ने, कथा भन्ने, गीत गाउने, फूल टिप्ने सबै काम महिलाले नै गर्ने भएकाले यस पर्वमा महिला पुरुषभन्दा अग्रस्थानमा छन् भन्ने सन्देश दिएको उहाँको भनाइ छ ।
महेन्द्रनगर धनुषाकी ममता साहका अनुसार यस व्रतमा भनिने कथा र गीतले नवविवाहिता महिलाले आफ्नो वैवाहिक जीवनलाई कसरी सहजरूपले अगाडि बढाउने भन्ने सन्देश दिएको महसुस भएको छ । उहाँ भन्नुहुन्छ, “विवाहको पहिलो वर्ष मात्र विधिवत् मनाउने भएकाले यसको आनन्द सबैले नवविवाहिता महिलाले लिनुपर्दछ । यसले हाम्रो संस्कृति र रीतिरिवाजलाई जीवन्त बनाएको छ ।” शिव परिवारलाई आदर्श मान्दै नवदम्पतीले आफ्नो जीवनको शुभारम्भ शिव परिवारलाई साक्षी मानेर यसैको अनुसरण गर्ने प्रण लिएर गृहस्थ जीवनमा प्रवेश गर्छन् भन्ने मान्यता यस पर्वको रहेको छ ।
पूजा सामग्री
कपडा, शृङ्गारका सामान, पूजाका सामग्रीको व्यवस्था र पवनैतिन (पूजा गर्ने नवविवाहिता) को भोजनका वस्तुहरू पनि ससुराली (पतिको घर) बाटै आउँछ । मधुश्रावणी पर्वको पहिलो दिन तथा अन्तिम दिन विधिविधानसहित नवविवाहिता वधुहरूले पूजा र अनुष्ठान गर्दै देवीपार्वती (गौरी), सूर्य, चन्द्र, नवग्रह, नागको विधिवत् पूजा गर्छन् ।
मधुश्रावणीको अन्तिम दिन अर्थात् श्रावण शुक्ल तृतीयाको दिन नवविवाहिता वधुको ससुरालीबाट पूजन सामग्रीका साथै पकवान र नववस्त्र उपहार आउँछ, सोही पूजन सामग्रीबाट पूजा समापन गरिन्छ । पूजाको अन्त्यमा महिलालाई प्रसादस्वरूप गुलियो खान दिइने गरिन्छ । यस पर्वमा हरेक दिन पूजाको अघिल्लो दिन नै साँझपख फूल, पात आदि एकत्रित गरेर बाँसको डालामा सजाइने गरिन्छ । त्यही फूलपातले भगवान् भोलेनाथ, माता गौरी तथा नागवंश वा विषहारा पूजा–अर्चना गरिन्छ ।
भनिन्छ, माता विषहरा देवादिदेव शिवका पुत्री हुन्, त्यसैले १३ दिनसम्म शिव–पार्वतीका साथै माता विषहराको माटोको स्वरूपको पूजा गरिन्छ र शिव–पार्वतीको जीवन चरित्रका साथै माता विषहराको जन्म र मानव जीवनमा त्यसको महत्वको कथाका रूपमा सुनिन्छ । मधुश्रावणी पूजाका लागि चाहिने विशेष सामग्रीमा दुबो, काँचो बेसार, धनिया, सरवा, पानक पात, सुपारी, सिंदूरक गद्दी, लाल कपडा, माटोको पाँचवटा विषहारा, पाँचवटा मैना पात, पाँचवटा केराको पात, काजल, पिठार (चामलको पीठोको घोल), श्रीखण्ड चन्दन, पुरहैर, पातिल, धान, गाईको दूध, लाबा, फूल, नीमको पात, कागरी, आदि छन् । नैवेद्यका लागि चोखो चामल, चिउरा, चिनी, आँप, कटहर, केरा, अङ्कुरित चना वा मुँग आवश्यक पर्दछ ।
बासी फूलले पूजा गर्ने परम्परा
यस पर्वमा मिथिलाका नवविवाहिताहरूले आफ्नो सौभाग्यको दीर्घायुका लागि बासी फूलले माता गौरी तथा विषहाराको पूजा गर्छन् । यस पर्वको अवधिमा मिथिलाका नवविवाहिता महिला पूजाको अघिल्लो दिन आफ्ना सखी–सहेलीसँगै पारम्परिक लोकगीत गाउँदै शृङ्गारसहित सजिएर फूलको बगैँचाबाट विभिन्न प्रकारका फूलपातलाई बाँसको डालोमा सजाएर ल्याउँछन् । प्रत्येक दिन बिहान आफ्नो पतिको लामो आयुको कामना गर्दै त्यसै फूलपातले माता पार्वतीको साथै विषहाराको पूजा गर्ने गर्छन् ।
प्रत्येक दिन पूजापश्चात् महिला पुरोहितले मधुश्रावणी व्रतको कथा सुनाउँछन् । मधुश्रावणी व्रत कथामा प्रत्येक दिनको छुट्टाछुट्टै १३ वटा कथा छन् । पहिलो दिन मौना पञ्चमी र विषहराको जन्मको कथा, दोस्रो दिन बिहुला र मनसाको कथा, विषहरा र मङ्गला गौरीको कथा, तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथा, चौथो दिन सतीको कथा र पतिव्रताको कथा, पाँचौँ दिन महादेवको पारिवारिक कथा सुनाइन्छ ।
यस्तै, छैटौँ दिन गङ्गाको कथा, गौरीको जन्म कथा, काम–दहन कथा, सातौँ दिन गौरीको तपस्या, आठौँ दिन गौरीको विवाह वर–तथा–बरियाती, नवौँ दिन मैनाको मोह, गौरीको विवाह, १०औँ दिन कार्तिकको जन्म कथा, गणेशको जन्म र गौरीको नागको कथा, ११औँ दिन सन्ध्याको विवाह र लिलीको जन्म कथा, लिलीको विवाह कथा, १२औँ दिन बाल–वसन्त र गोसाउनको कथा र १३औँ अर्थात् अन्तिम दिन श्रीकर राजाको कथा सुनाइन्छ ।
साउन महिना सुरु भएसँगै मिथिलाञ्चलमा लोकसंस्कृतिले भरिएका मधुश्रावणीका गीत समेत गुञ्जिन थालेको छ । यस पर्वमा माटोको मूर्ति, विषहर, गौर बनाइन्छ । नवविवाहिता महिला मधुश्रावणी अवधिमा चोखो भोजन ग्रहण गर्छन् । यस अवधिमा नवविवाहिता व्रत बसी श्री गणेश, माटो र गोबरबाट बनाइएका विषहरा एवं गौरी–शङ्करको विशेष पूजा गर्छन् ।
मधुश्रावणी व्रतको सुरु र अन्तिम दिनमा व्रतालुद्वारा समाज र परिवारका महिलालाई अङ्कुरित चना, मुंग प्रसादको रूपमा बाँड्ने परम्परा रहेको छ । व्रतालु महिला पूजाको समयमा गोसाउनको गीत तथा मधुश्रावणी पर्वसँग सम्बन्धित गीतहरू गाउँछन् र साँझको समयमा गीत गाउने परम्परा छ ।
पर्वको अन्तिम दिन टेमी दाग्ने (नवविवाहित वधुको दुईवटै घुँडा र खुट्टामा बलिरहेको बातीले दाग्ने) परम्परा छ । जुन व्रतालुको दुइटै घुँडामा फोका उठ्छ, उसको पतिको आयु लामो हुने जनविश्वाससमेत छ । गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र विषधर नागलाई वंश समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नागनागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् बताउँछन् ।
गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन, मनोकामना पूर्ण गर्ने देवी पनि हुन् । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । मधुश्रावणी पर्वमा कतिपय कथा शिव–पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्र्रतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास छ । साउनमा नाग देवताको पूजा गर्नेलाई सर्पबाट भय हुँदैन भन्ने धार्मिक विश्वास समेत रहेको पाइन्छ ।