जेनेभा, १६ साउन: गाजा युद्धको क्रममा इजरायलले हिरासतमा राखेका प्यालेस्टिनीलाई गोप्य राखी यातना दिइरहेको संयुक्त राष्ट्र सङ्घले प्रतिवेदनमार्फत उल्लेख गरेको छ ।
युद्ध सुरू भएदेखि, हजारौं प्यालेस्टिनी स्थानीय बासिन्दा, चिकित्सक र बिरामीसमेत गाजाबाट इजरायल लगिएको प्रतिवेदनले जनाएको छ । उनीहरूमध्ये हजारौँलाई हतकडी लगाएर वा आँखामा पट्टी बाँधेर पश्चिमी किनारा (वेस्ट बैङ्क) र अन्य इजरायली हिरासतमा राखिएको संयुक्त राष्ट्रसङ्घ मानव अधिकार कार्यालय (ओएचसीएचआर) ले जनाएको छ ।
रिपोर्टअनुसार उनीहरूलाई नजरबन्दमा राखी वकिललाई भेट्न वा प्रभावकारी न्यायिक प्रक्रियामा सहभागी हुन नदिइएको ओएचसीएचआरले जनाएको छ ।
गाजा युद्ध सुरु भएदेखि इजरायली नजरबन्दमा गाजा र वेस्ट बैङ्कका कम्तीमा ५३ कैदीको मृत्यु भएको रिपोर्टले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले युद्धविराम कार्यान्वयन गरी अन्तर्राष्ट्रिय कानूनको पालना र जवाफदेहिता सुनिश्चित गर्न द्वन्द्वरत सबै पक्षलाई आह्वान गर्नुभएको छ ।
इजरायल र प्यालेस्टिनी सशस्त्र समूहले यातना र दुब्र्यबहारका साथै बलात्कार तथा यौनजन्य हिंसा गरी मानव अधिकारको दुरुपयोग गरेको ओएचसीएचआरको रिपोर्ट छ ।