झापा, १९ साउन : मेचीनगर नगरपालिका क्षेत्रका महिला प्रधानाध्यापक तथा शिक्षिकाले विद्यालयमा स्तनपान कक्षको अभाव भएको बताउनुभयो । नगरका ३१ जना महिला शिक्षिकाहरुले तीन महिने सुत्केरी विदा सकिएपछि शिशु लिएर विद्यालयमा जानुपर्ने बाध्यता रहेकाले अनिवार्य स्तनपान कक्ष आवश्यक राख्न माग समेत गरेका छन् ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथाकी, उपप्रमुख मिना उप्रेती र शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीलाई समेत भेट गरी स्तनपान कक्षको व्यवस्था गरिदिन आग्रह गरेको कविशिरोमणि माविका शिक्षिका नीलु शर्माले बताउनुभयो ।
“सरकारले सुत्केरी विदा भनेर तीन महिना बिदा दिने गरेको छ,” उहाँले भन्नुभयो–“त्यसपछि त विद्यालयमा जानैपर्छ । अधिकांश सुत्केरी गुरुआमाहरु आफ्ना बच्चाहरु च्यापेर विद्यालय पुग्नुहुन्छ । उहाँहरुका लागि स्तनपान गराउने अलग्गै सुरक्षित कोठाको व्यवस्था छैन ।”
उहाँले नगरका अधिकांश विद्यालयमा स्तनपान कक्षको व्यवस्था नभएको बताउनुभयो । उहाँले स्तनपान गराउन घरसम्म जानुपर्ने बाध्यता रहेता पनि उल्टै किन घर गएको भनेर खप्की खानुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो ।
अलग कोठाको प्रबन्ध नहुँदा शिक्षिका र छात्राले महिनावारीको अवस्थामा विद्यालयमा असुविधा व्यहोर्ने गरेको मेचीनगर–१ स्थित वाल विकास आधारभूत विद्यालयका शिक्षिका फडिन्द्र पौडेलले बताउनुभयो । अधिकांश विद्यालयमा स्तनपान कक्ष र अलगको व्यवस्था नभएको उहाँले सुनाउनुभयो ।
विद्यालयहरुमा स्तनपान कक्ष र अलग कोठा मात्र नभएर शौचालय, पिउने पानी, खेलमैदान, खाजा घरलगायतका सुविधा तथा संरचनाको अभाव रहेको शिक्षिकाहरुले गुनासो गर्नुभयो । विद्यालयमा छात्रा तथा शिक्षिकाहरुका लागि अलग शौचालय नहुँदा अप्ठेरो अवस्थाको सिर्जना हुने गरेको मेचीनगर–१५ स्थित ज्ञानद्वीप आधारभूत विद्यालयका प्रधानाध्यापक अञ्जु पौडेलले बताउनुभयो ।
शिक्षिकाहरुले महिला प्रधानाध्यापक रहेका विद्यालयमा भौतिक सुविधाका संरचना निर्माणमा पर्याप्त बजेट बिनियोजन गरिदिन माग गर्नु भएको छ । खानेपानीको धारा, शिक्षिका तथा छात्राका लागि शौचालय, स्तनपान कक्ष र अलग निर्माणमा सरकारले बजेट दिनुपर्ने उहाँहरुको माग छ ।
तुलनात्मक रुपमा ग्रामीण भन्दा सहरी क्षेत्रका विद्यालयमा सुविधा ज्यादा रहेको र गाउँका विद्यालयको भौतिक साधन र स्रोतको अवस्था दयनीय रहेको मेचीनगर–४ को दीपेन्द्र आधारभूत विद्यालयक प्रधानध्यापक शान्ता निरौलाले बताउनुभयो । असुविधाकै कारण अधिकांश छात्राले पढाई छाड्ने गरेको उहाँको भनाइ थियो । मेचीनगर–२ को भानु माध्यमिक विद्यालयका प्रधानध्यापक खड्गकुमारी तिम्सिनाले विद्यालयमा मनोपरामर्श सेवाको व्यवस्था हुनुपर्ने र विद्यार्थी दिवा खाजाको रकम पर्याप्त हुनुपर्ने माग गर्नुभयो । बाल कक्षामा कार्यरत शिक्षिकाहरु अवकाशबाट घर फर्किदा खाली हात जानुपर्ने गुनासो शिक्षिकाहरुले सुनाएका थिए ।
शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले शिक्षिकाहरुले उठान गर्नु भएको समस्या समाधानका लागि नगरपालिकाले शीघ्र पहल गर्ने र कतिपय विषय कार्यान्वयनको प्रक्रियामा रहेको बताउनुभयो । सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक स्वास्थ्य सस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।