साउन १२, २०७८ मंगलबार

मंगलबारदेखि सञ्चालन गर्ने भनिएका मध्यपश्चिम विश्वविद्यालयका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो ।

सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिकाअनुसार नै परीक्षा हुने बताएको परीक्षा व्यवस्थापन कार्यालयले सोमबार मध्यराति अर्को सूचना जारी गर्दैै एक साताका लागि सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ ।

विश्वविद्यालयले आज (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । विद्यार्थीहरूले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए । विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई नै कारण देखाउँदै परीक्षा स्थगित गरिएको जनाएको छ ।

‘विज्ञान तथा प्रविधि संकार्यतर्फ १२ गतेदेखि सञ्चालन हुने स्नातक तह र १३ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तहको सत्रान्त परीक्षा लगायत अन्य संकायका पूर्वनिर्धारित परीक्षा सम्बन्धि कार्यक्रमरू एक हप्ता पछाडि सार्ने गरी स्थगित गरिएको छ,’ परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्द प्रसाद सुवेदीद्वारा जारी सूचनामा भनिएको छ ।