भदौ ११, २०८१ मंगलबार

पर्वत, ११ भदौ : फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै अन्य कोठासमेत पुरिएका छन् । भवन भत्किएपछि दैनिक पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । 

गत साउन ३१ गते राति ११ बजे झण्डै २० मिटर लामो पहिरो झरेर भवन भत्किएको हो । चार कोठे भवनमा क्षति पुगेपछि अहिले बाँकी रहेका अन्य कक्षाकोठामा मुस्किलले पठनपाठन सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार पहिरोले तीन शौचालय प्रयोग नै गर्न नसकिने गरी पूर्ण रूपमा भत्किएका छन् भने चार कोठे भवनको दुई वटा कोठामा पूर्ण रूपमा क्षति भएको छ । ती कोठामा रहेका झन्डै २५ डेस्क र बेन्च पनि भवनसँगै पुरिएका छन् । भूकम्पपछि विद्यालयमा प्राप्त भएको अर्को चार कोठे भवन पनि सोही पहिरोले उच्च जोखिममा रहेको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । 

रातिको समयमा पहिरो गएका कारण मानवीय क्षति हुन नपाएको हो । ठूलो भौतिक क्षति भएपछि विद्यालय समस्यामा परेको बताउँदै प्रअ थापाले दिउँसोको समयमा पहिरो झरेको भएमा ठूलो मानवीय क्षति हुने अवस्था रहेको बताउनुभयो । “रातिको समयमा पहिरो आएकाले भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन”, प्रधानाध्यापक थापाले भन्नुभयो, “विद्यालय रहेको जमिन पनि कमजोर र भिरालो भएकाले सधैँ जोखिममा रहनुपरेको छ ।”    

पहिरोले भत्किएका चार कोठे भवनको दुई कोठामा विद्यार्थी राख्न सकिने अवस्था रहेको भए पनि जोखिमकै कारण त्यसलाई प्रयोगमा ल्याउन मिल्ने अवस्था नरहेको प्रअ थापाले बताउनुभयो । तत्कालका लागि केही कक्षालाई व्यवस्थापन गरेर अध्यापनलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । 

पहिरो खसेको क्षेत्र ठूलो भएकाले फेरि पनि क्षति पुग्नसक्ने जोखिम रहेको उहाँले बताउनुभयो । तत्काल पहिरोको व्यवस्थापन तथा आगामी दिनमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि धेरै बजेट लाग्ने अनुमान गरिएको छ । विद्यालय आर्थिक समस्यामा रहेका कारण विद्यालय आफैले पहिरो पन्छ्याउने र भविष्यका लागि बलियो हुने गरी पर्खाल लगाउने अवस्थामा विद्यालय नरहेको प्रधानाध्यापक थापाले बताउनुभयो । 

पहिरोको अनुगमन गर्न पुग्नुभएका फलेवासका नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर पहिरोको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको छ । वर्षायामको समय भएकाले आवश्यक सतर्कता अपनाएर पहिरोको जोखिमलाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको छ ।