भदौ २०, २०८१ बिहिबार

    महेन्द्रनगर (धनुषा), २० भदौः धनुषाको सहिदनगर नगरपालिका–८ डुमरियास्थित सहिद सूर्यनारायण स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि आज पठाइएको छ ।

    करिब १४ वर्षयता सञ्चालन हुन नसकेको सो अस्पतालमा तत्काल सेवा सञ्चालन हुने प्रतिबद्धता प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्नुभएको थियो । मुख्यमन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाइएको हो ।    

    प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा सञ्जय ठाकुरले बताउनुभयो ।