भदौ २०, २०८१ बिहिबार

नवलपरासी, २० भदौ : बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका छन् ।

    फलेकसीकाटोकाको सङ्क्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताउनुभयो । 

    जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ सय बिघा जग्गामा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै सुस्ता र प्रतापपुरमा केरा जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । प्राविधिक, केरा विज्ञसहितको टोलीले अध्ययन गरी केरामा देखिएको सङ्क्रमण फलेकसीकाटोका नामक किराका कारण लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो । 

    सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण विकास परियोजनाले तीन किसिमका विषादी उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

    भारतको महाराष्ट्रबाट केरा उत्पादनसम्बन्धी तालिम लिएपछि यहाँका किसानले व्यावसायिक रुपमा केरा खेती गर्न थालेका बताउँदै अहिले बोटमा सङ्क्रमण देखिन थालेपछि चिन्तित बनेका यादवले उल्लेख गर्नुभयो । उहाँका अनुसार महाराष्ट्रका प्राविधिकको सुझाव र परियोजनामार्फत उपलब्ध औषधिको प्रयोग गरेपछि केही मात्रामा सङ्क्रमण नियन्त्रणमा आएको छ । 

    यस क्षेत्रमा केराका बोटमा प्रत्येक वर्ष फलेकसीकाटोकाको सङ्क्रमण देखिने गरेको सङ्घका अध्यक्ष यादवले जानकारी दिनुभयो । केरा खेतीलाई रोगबाट बचाउन रोग पहिचान, उपचार विधि, व्यावसायिक उत्पादन तथा बजारीकरणमा सरकारले तालिम दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

    केराको बिउ तथा औषधि बिक्री गर्ने एग्रोभेट क्षेत्रिय निर्देशनायल राख्न माग गर्दै आए पनि कार्यान्वयन नहुँदा किसानलाई सास्ती भएको यादवको भनाइ छ । स्थानीय सरकारसँग केरामा छर्ने औषधि तथा बिउ बिक्री गर्ने एग्रोभेट सञ्चालन लागि पटकपटक अनुरोध गरिएको बताउँदै सरोकार भएका निकायले चासो नदिँदा प्रत्येक वर्ष किसान पीडित हुने गरका उहाँले जानकारी दिनुभयो । 

    केही समय परीक्षणका रुपमा केराखेती गरेका किसानले अहिले व्यावसायिक खेती थालेका भन्दै केरा उत्पादन सङ्घका अध्यक्ष यादवले किसानलाई सहजीकरण गर्न सङ्घ प्रयासरत रहेको बताउनुभयो । 

    स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण विकास परियोजना, कृषि ज्ञान केन्द्रलगायत निकायले प्राविधिक र सीप उपलब्ध गराएर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । फलेकसीकाटोकाको सङ्क्रमणले केरा बगानमा क्षति पु¥याएको भन्दै उत्पादनमा ह्रास आउनेमा चिन्ता लागेको सुस्ता‐४ का किसान लीला गुरुङले बताउनुभयो । उहाँका अनुसार दुई सय बिघाबढी बगानमा किराको सङ्क्रमण फैलिएको छ ।

    केराखेती गर्ने किसानलाई सहजीकरण गरी समास्या समाधान गर्ने उद्देश्यले बिउ, विषादी बिक्री गर्न र प्राविधिक सहयोग उपलब्ध गराउन एग्रोभेट सञ्चालनका लागि योजनाबद्ध रुपमा पहल भइरहेको प्रतापपुर गाउँपालिका कृषि शाखा अधिकृत सृजना न्यौपानेले जानकारी दिनुभयो ।

    कृषि ज्ञान केन्द्रमार्फत परियोजनाबाट उपलब्ध गराइएको विषादी तथा औषधिले सङ्क्रमण नियन्त्रण हुँदै गएको केन्द्रका प्रमुख डा चौबेले बताउनुभयो । उहाँले किसानलाई रोग पहिचान, उपचार विधिलगायत जानकारी दिने उद्देश्यले तालिमको आयोजना गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।