भदौ २०, २०८१ बिहिबार

एसियाली विकास बैङ्क (एडिबी) ले फिलिपिन्सको विकास तथा जलवायु चुनौतीको सामना गर्न दिगो, समावेशीसहितको विकास सुनिश्चितता गर्न डिजाइन गरिएको छ वर्षे साझेदारी रणनीति सुरु गरेको छ ।

    सन् २०२४–२०२९ सम्मको रणनीति महत्त्वपूर्ण विकास आवश्यकता सम्बोधन गरी प्रमुख क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न केन्द्रित रहने छ । यसमा मानव विकास, आर्थिक प्रतिस्पर्धा र गुणस्तरीय पूर्वाधारका साथै प्रकृतिमा आधारित विकासलगायतका विषय समावेश रहेको मनिलाको एक बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

    विज्ञप्तिअनुसार डिजिटल रूपान्तरण, लैङ्गिक समानता, सुदृढ शासन र संस्थागत क्षमताका लागि रणनीतिको अभिन्न अङ्ग हुन् । रणनीतिले विकासका लागि समग्र दृष्टिकोण सुनिश्चित गर्दछ ।

     रणनीतिले आर्थिक वृद्धिलाई गतिशील बनाई गरिबी र आय असमानतालाई सम्बोधन गर्दै दोहोरो चुनौतीको सामना गरिरहेको समयमा समृद्ध भविष्यका लागि सहकार्यलाई अगाडि बढाउने फिलिपिन्सका लागि एडिबीका देशीय निर्देशक पावित रामचन्द्रनले बताउनुभयो ।  

    फिलिपिन्सलाई विकासमा सक्रिय राख्न एडिबीले यस रणनीतिअन्तर्गत कम आय भएका घरपरिवारलाई फाइदा पुर्याउन प्रमुख पूर्वाधार लगानीमार्फत क्षेत्रीय आर्थिक विकास कोरिडोरलाई बढावा दिनेछ । 
    
    यसैगरी रणनीतिबमोजिम स्वच्छ ऊर्जा, अर्थव्यवस्था तथा प्रकृतिमा आधारित लगानी जस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नेछ ।

    रणनीतिअन्तर्गत एडिबीले नीति सुधार र समर्थन गरी बजार तथा लगानीलाई सुदृढ पार्दै कोषको विस्तार गरी निजी क्षेत्रको नेतृत्वमा विकासलाई उत्प्रेरित गर्ने जनाएको छ ।