भदौ २१, २०८१ शुक्रबार

तुलसीपुर (दाङ), २१ भदौ (रासस) : दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ।

“यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भन्नुभयो, “न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।”

शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । विसं २०४५ मा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ ।

विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न दाताहरूको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको छ । त्यो विद्यालयले बोर्डसमेत फेर्न सक्ने अवस्था छैन । सो ठाउँ सङ्घीयतापछि तुलसीपुर–७ नं वडा भए पनि त्यहाँको बोर्डमा अझै ‘तुलसीपुर नगरपालिका–४’ नै लेखिएको छ । जुन बोर्ड सङ्घीयता आउनुभन्दा अघिकै बोर्ड हो ।

आर्थिक अभावकै कारण बोर्ड पनि फेर्न नसकिएको  प्रधानाध्यापक केसीले बताउनुभयो । अहिले सोही विद्यालयमा सातजना शिक्षक–शिक्षिका कार्यरत हुनुहुन्छ । सो विद्यालयलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा हेर्नुपर्ने प्रअ केसीले बताउनुभयो ।