साउन १३, २०७८ बुधबार

नायक विराज भट्ट भोजपुरी चलचित्र ‘आक्रोश’को छायाङ्कनका क्रममा घाइते भएका छन् । नायक भट्ट घाइते भएपछि यस चलचित्रको छायाङ्कनसमेत रोकिएको छ ।

चलचित्रको छायाङ्कन भारतको लखनउमा भइरहेको थियो । नायक विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको जानकारी दिएका छन् ।

डाक्टरले दुई साता आराम गर्न सल्लाह दिएपछि विराज अभिनित यो चलचित्रको छायाङ्कन पनि प्रभावित भएको हो । सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगरलगायतका कलाकारको अभिनय छ । चलचित्रको ४० प्रतिशतभन्दाबढी काम सकिएको छ । नेपाली चलचित्रमा स्टारडम बलियो भइरहेको समयमा विराज भोजपुरी चलचित्रतर्फ लागेका थिए ।

भोजपुरी चलचित्रमा जमेका विराजले केही वर्षअगाडि चलचित्र ‘जय परशुराम’बाट नेपाली चलचित्रमा कमब्याक गरेका थिए । यो चलचित्र असफल भएपछि फेरि सुस्ताएका विराजले आफ्नै निर्देशनमा ‘साङ्लो’ निर्देशन गरेका थिए । यो चलचित्र पनि असफल भयो । विराजको भोजपुरी चलचित्रमा राम्रो क्रेज छ ।