भदौ २१, २०८१ शुक्रबार

काठमाडौँ, २१ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताउनुभएको छ । 

मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सृजना भएको बताउनुभएको हो ।

“दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ, नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन्, यो सरकारले मुलुकमा लगानीको वातावरण सृजना गर्छ”, उहाँले भन्नुभयो । वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले वर्तमान सरकार, स्थायी सरकार भएकाले ढुक्क भएर लगानी गर्नसमेत आग्रह गर्नुभयो । धेरै कम्पनीलाई एकै ठाउँमा राखेर मेला सञ्चालन भएकाले यस्ता मेलाले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउने मन्त्री खड्काले बताउनुभयो ।

उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । प्रदर्शनीले विद्युत्को आन्तरिक खपत बढाउने र घरायसी कामका लागि समय बचत हुने उहाँको भनाइ थियो ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासका बाधक रहेका नीति नियमको परिमार्जन र संशोधन सरकारले गरिरहेको बताउनुभयो । तीन दिनसम्म चल्ने मेलामा स्वदेश र विदेशका ९० भन्दा बढी स्टल रहेको मिडिया स्पेसका सञ्चालक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।