भदौ २१, २०८१ शुक्रबार

गण्डकी, २१ भदौः गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले चाडपर्वको गरिमालाई सम्मानजनक बनाइ राख्नुपर्नेमा जोड दिनुुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सरल र सदाचार जीवनशैली अपनाउनका लागि खर्चिलो तथा भड्किलोपन बन्देज गरी चाडपर्वको गरिमालाई सम्मानजनक बनाइ राख्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुुभयो । 

हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न आवश्यक रहेको प्रदेश प्रमुख भट्टको भनाइ छ । “परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ । यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आवद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसरसमेत प्रदान गर्दै आएका छन्”, उहाँले भन्नुभयो । 

हरितालिका तीजले नेपाली महिलालाई समाजमा लैङ्गिक तथा जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने सन्देशमा शुभेच्छा व्यक्त गरिएको छ ।