भदौ २२, २०८१ शनिबार

काठमाडौँ, २२ भदौ : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र ‘अग्निदहन’ हालै भारतको विहार राज्यको सीतामढीमा प्रदर्शन गरिएको छ । 

    विहारको सीतामढीस्थित कमान्डेन्ट अफ एसएसबी–२०औँ बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको निर्देशक घनश्याम लामिछाने जानकारी दिनुभयो । यो चलचित्र नेपालमा आगामी मङ्सिर ७ गते प्रदर्शन हुँदैछ ।

    चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले विहारमा आफ्नो चलचित्रको ऐतिहासिक प्रदर्शन भएको जानकारी दिनुभयो । “हामीले त्यहाँ भोजपुरी भाषामा चलचित्र प्रदर्शन ग¥यौँ । निकट भविष्यमै भारतका विभिन्न राज्यमा र विशेष गरी सीमावर्ती क्षेत्रमा चलचित्र प्रदर्शनको तयारीमा छौँ”, उहाँले भन्नुभयो । परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा चलचित्र ‘अग्निदहन’को राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा प्रिमियर हुँदैछ ।

    चलचित्रका निर्देशक लामिछानेले एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताउनुभयो । “चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ”, उहाँले भन्नुभयो । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले चलचित्र निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गर्ने उद्देश्यले २०७१ सालमा स्थापना भएको हो ।

    चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङलगायतको अभिनय रहेको छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ । उक्त चलचित्रले चलचित्र विकास बोर्डले प्रदान गर्ने ‘विशेष चलचित्र अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।