भदौ २३, २०८१ आइतबार

काठमाडौँ, २३ भदौः साहित्यिक महोत्सवको आयोजना गर्दा आर्थिक अभावका कारण झेल्नुपरेका पीडा र सास्तीका विषयमा आयोजककर्ताले आ–आफ्नो विचार आदानप्रदान गर्नुभएको छ ।

    तेस्रो काठमाडौँ कलिङ साहित्य महोत्सव आयोजना गर्ने सन्दर्भमा ‘साहित्यिक महोत्सवको आवश्यकता र महत्व’ शीर्षकमा आज यहाँ भएको छलफल कार्यक्रममा सहभागीहरुले आर्थिक अभाव, व्यस्तता, दौडधुपलगायत कारणले सास्ती हुने गरेको बताउनुभयो । आयोजकहरुले महोत्सव गर्दाको दौडधुप र आर्थिक अभावका विषयमा अनुभव साट्नुभयो । 

    इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थाङ्सुुहाङले साहित्यिक महोत्सव सञ्चालन गर्न आवश्यक रकम अभाव हुने गरेको बताउनुभयो । आर्थिक सहयोग सङ्कलन गर्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नुपर्छ ।” 

    जनकपुर साहित्यक महोत्सवका आयोजक अमितकुमार शाहले अहिलेसम्म पाँचाँै संस्करण सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले महोत्सवमा आर्थिक सहयोगका लागि सम्झौता हुने गरे पनि पछि सहयोग नपाएको अनुभव सुनाउनुभयो । शाहले भन्नुभयो, “महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ । पछि पैसा उठाउन समस्या हुने गरेको छ । सम्झौताअनुसार सहयोग पाउन सकिदैँन ।” 

    साहित्यकार तथा लेखक शैलेन्द्र अधिकारीले साहित्यिक महोत्सवको मुख्य उद्देश्य पढ्ने संस्कृति विकास गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्य र नयाँ पुस्ताबीच ठूलो खाडल छ, यो खाडललाई साहित्यका माध्यमबाट पुर्नु महोत्सवको मुख्य उद्देश्य हुन्छ ।” महोत्सवले विद्यार्थी सन्तुष्ट हुन नसकेको बताउँदै उहाँले नयाँ पुस्ताको भाषामा साहित्य बुझाउन आवश्यक रहेको बताउनुभयो । उक्त सत्रको सञ्चालन सञ्चारकर्मी राधिका अधिकारीले गर्नुभएको थियो ।